लोड हुँदैछ...

मेनु

उखुबारीमा हत्या प्रकरण: ४ दिनपछि पहिचान खुलेका चौधरी ठेक्कापट्टामा संलग्न

उखुबारीमा हत्या प्रकरण: ४ दिनपछि पहिचान खुलेका चौधरी ठेक्कापट्टामा संलग्न

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ बोर्डिङटोलको उखुबारीमा खाल्डो खनेर गाडिएका दुई व्यक्ति मध्ये आइतबार पहिचान खुलेको सप्तरीको शम्भूनाथ नगरपालिका ४ घर भइ काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरी निर्माण व्यवसायी भएको खुलेको छ ।

उनले काठमाडौं १७ मा स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनमार्फत ठेक्कापट्टा लिएर काम गर्ने गरेको खुलेको हो । उनी उक्त कन्स्ट्रक्सनका संचालक हुन् । उनले काठमाडौंसहित पश्चिम दाङलगायतका सहरमा ठेक्का लिएर निर्माणको काम गर्थे ।

२८ मंसिरमा उनी र उनका साथी सुनसरीको धरान ३ घर भइ भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ व्यवहार मिलाउने भन्दै पूर्व आएका थिए । पूर्व आएको ४५ दिनपछि उनीहरु दुवै जनाको उस्तै प्रकृतिमा हत्या गरेपछि शव लुकाउन उखुबारीमा खाडल खनेर गाडेको अवस्थामा बुधबार चौधरी र बिहीबार श्रेष्ठको शव फेला परेको थियो ।

उनीहरु एक अर्काको साथी रहेको खुलेको छ । श्रेष्ठ जग्गाको कारोबार र चौधरी ठेक्कापट्टा लिएर काम गर्दै आएका थिए । उनीहरु जग्गाको कारोबारको लागि पूर्व आएका थिए । पूर्व आएको एक हप्ता पनि बित्न नपाउँदै ‘लफडा भयो, पछि कल गर्छु भन्दै श्रीमतीलाई श्रेष्ठले म्यासेज पठाएका थिए । ४ पुसदेखि उनीहरु दुवै जना परिवारको सम्र्पकमा छैनन् । व्यवहार मिलाएर फर्किने भनिएकाले उनीहरुले प्रहरीमा उजुरी नगरेको बताएका छन् ।

पूर्व आएपछि पैसा चाहिएकोे भन्दै चौधरीले परिवारसँग दुई पटक गरि २ लाख ८० हजार रुपैयाँ पनि मगाएको श्रीमती अम्बिका चौधरीले बताइन् । ‘२ पुसतिर पैसा चाहियो भन्दै श्रीमान्ले भन्नुभयो । त्यसबेलामा मैले ८० हजार रुपैयाँ पठाइ दिएँ । यसअघि पनि २ लाख रुपैयाँ पठाइदिएको थिएँ । व्यवहार मिलाएर फर्किन्छु भनेर ४ पुसमा अन्तिम पटक सम्र्पक भएको थियो । त्यसपछि श्रीमानसँग सम्र्पक भएन्,’ उनले भनिन् ।

आर्थिक लेनदेनको विवादमा दुवै जनाको सँगै हत्या भएको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । प्रहरीले सँगै आएका व्यक्ति, विराटनगर, झापा र काठमाडौंका केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरिरहेको छ । गत बुधबार उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको प्रहरीले बुधबार एउटा खाल्डोबाट चौधरीको शव फेला पारेको थियो । शव भेटिएको स्थानबाट करिब ३० मिटरको दुरीमा रहेको अर्काे खाल्डोमा श्रेष्ठको शव फेला परेको थियो ।

प्रहरीका अनुसार दुवै जनाको हत्यापछि गाड्ने प्रकृति एउटै थियो । छुट्टाछुट्टै स्थानमा शव गाडिएको भए पनि दुवैको घाँटीमा डोरीको डाम थियो । बिजुलीको पोल गाड्ने जस्तो खाल्डोमा नुन हालेर गाडिएका दुवैलाई यातनापछि हत्या गरेर उखुबारीमा गाडेको जस्तो देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । यस घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीले संयुक्त रूपमा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।