विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ भक्तपुरमा बसेर जग्गाको कारोबार गर्दै आएका ४९ वर्षीय व्यवसायी राजेन्द्र कुमार श्रेष्ठले साथीहरुसँग झापामा १८ बिघा क्षेत्रफलमा प्लटिङ गर्दै आएका थिए । सोही व्यवहार मिलाउने उद्देश्यले उनीसहितका साथीहरु मंसिर अन्तिम साता पूर्व आएको खुलेको छ ।
‘पूर्व आएको एक साता पनि नबित्दै ४ पुसमा लफडा भयो, पछि कल गर्छुै भन्दै श्रीमतीलाई म्यासेज पठाएका छन् । त्यसपछि श्रेष्ठको परिवारसँग सम्र्पक पनि भएको देखिएको छैन । म्यासेज पठाएको २९ दिनपछि उखुबारीमा खाल्डो खनेर गाढेको अवस्थामा शव भेटिएको छ ।
व्यवसायीक कारोबारलाई लिएर आर्थिक लेनदेनमा हिसाब नमिलेर पनि घटना भएको हुनसक्छ । यो पाटोसँगै सबै कोणबाट सुक्ष्म तरिकाले हामीले अनुसन्धान सुरु गरेका छौं,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । घटनाको नजिकबाट अनुसन्धान गर्दै आएका प्रहरीले लेनदेनको विषयमा कुरा नमिल्दा उनको अपहरणपछि हत्या भएको हुनसक्ने पनि दाबी गरेका छन् । ‘यद्यपि यो प्रारम्भीक अनुमान हो, विस्तृत अनुसन्धानपछि मात्रै सबै कुरा खुल्छ’, ती प्रहरी अधिकारी बताउँछन् ।
स्रोतका अनुसार अहिले प्रहरीले श्रेष्ठको मोबाइलको प्राविधिक अनुसन्धान थालेको छ । प्रहरीले उनको कल डिटेल रेकर्ड (सीडीआर) मगाएको छ भने बीटीएस टावरका आधारमा घटनास्थल वरपर सक्रिय मोबाइलहरुको विवरण पनि मगाएको छ । ‘प्राविधिक पक्षको विश्लेषणबाट पनि महत्वपूर्ण सुराक आउने अपेक्षा छ,’ अनुसन्धान अधिकृतहरु भन्छन्, ‘मृत्युको विस्तृत कारण चाहिँ पोष्टमार्टमको प्रतिवेदनबाट खुल्ला ।’
‘खुट्टामा टाँचा लगाएको देखेपछि पहिचान गर्यौं’
हत्या गरेपछि उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको राजेन्द्र श्रेष्ठका परिवारले शवको शुक्रबार सनाखत गरेपछि दाहासंस्कार गरेका छन् । शवको सनाखत गरेपछि उनीहरुले आफ्नो संस्कार अनुसार विराटनगरको हाटखोलामा शुक्रबार अन्तिम संस्कार गरेका हुन् ।
बिहीबार भेटिएको शवसँगै कागजपत्रबाट पहिचान खुलेपनि खाल्डोबाट निकालिएको श्रेष्ठ अनुहार नचिनिने अवस्थामा थियो । शवसँगै नुन पनि हालेका कारण अनुहार नचिनिने अवस्था थियो । तर, प्रहरीले श्रेष्ठको साथदेखि सवारी चालक अनुमति पत्र फेला पारेपछि उनका आफन्तलाई जानकारी गरायो । शुक्रबार काठमाडौंदेखि श्रेष्ठका परिवार विराटनगर आएका थिए । ‘कोशी अस्पतालमा पोस्टमार्टम गरिन् राखिएको बुबाको खुट्टामा कुकुरले टोकेपछि टाँचा लगाएको थियो । सोही डोबको दागसँगै बावुले लगाएको जुत्ता, टोपी र दाँत हेरेपछि बुबानै भएको पहिचान भयो,’ कान्छा छोराले भने, ‘बुबाकै शव भएको पहिचान भएपछि खनाखत गरेर अन्तिम संस्कार गरेका छौं ।’
कडा कारवाहीको माग
व्यवसायी श्रेष्ठको हत्या गरेपछि उखुबारीमा खाल्डो खनेर हत्या गर्ने घटनाको निष्पक्ष छानविन गरि दोषीलाई काडा कारबाही हुनुपर्ने माग राखेका छन् । मृतकका आफन्तले प्रहरी प्रशासनले घटनाको सत्यतथ्य बाहिर ल्याएर अपराधि सर्वजानिक गर्नुको साथै घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीको माग राखेका छन् । मृतक श्रेष्ठका श्रीमती, २ छोरा र एक छोरी रहेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।