लोड हुँदैछ...

मेनु

उखुबारीमा मृत फेला परेका पुरुष धरान घर भई भक्तपुर बस्ने राजेन्द्रकुमार श्रेष्ठ

उखुबारीमा मृत फेला परेका पुरुष धरान घर भई भक्तपुर बस्ने राजेन्द्रकुमार श्रेष्ठ

विराटनगर । मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा हत्या गरेपछि खालड खनेर गाढेको अवस्थामा दुई जना पुरुषको शव फेला परेकोमध्ये एक जना पुरुषको पहिचान खुलेको छ ।

बिहीबार दिउँसो उत्खनन् गरेर निकालिएको शव सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको रहेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । प्रहरीले उनको साथदेखि एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको एसपी जिसीले जानकारी दिए ।

सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान खुल्न बाँकी छ । बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाढेको अवस्थमा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । उनको हत्या गरेपछि ५ फिट गहिरो खाडल खनेर शव गाडेको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ । शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ ।

बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटर पुर्व गंगाप्रसाद सिंहको उखुबारीदेखि पनि ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव बुधबार राती भेटिएको थियो । दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाडेको अवस्थमा भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए ।

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा शव भेटिएको थियो ।

एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । अहिले घटनास्थलमा संघीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा स्क्रिनिङ गराइएको छ ।

घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जिसी, डिएसपी मञ्जिल मुकारुङ, इलका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहितका प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।