धनपालथान उखुबारीमा दुई शव फेला प्रकरण : गम्भीर अनुसन्धान गर्न माग (भिडियो)

विराटनगर । मोरङको धनपालथान–७ स्थित उखुबारीमा गाडिएको अवस्थामा फेला परेको शव घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ ।

सुनसरी घर भएको कागजपत्र फेला परेको ३५ देखि ३० वर्षीय पहाडी मुलका देखिने पुरुषको घाँटीमा डोरीको डाम देखिएको हो । उनको हत्या गरेपछि ५ फिट गहिरो खाडल खनेर शव गाढेको अवस्थमा शव फेला परेको छ । शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ ।

बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटर पूर्व गंगाप्रसाद सिंहको उखुबारीदेखि पनि ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव बुधबार भेटिएको थियो । दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाढेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा पुरुषको शव भेटिएको थियो ।

एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । अहिले घटनास्थलमा सङ्घीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा स्निफिङ गराइएको छ ।

घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जिसी, डिएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहितका प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गर्दै आएको छ ।

गहन अनुसन्धान गरि दोषीलाई कारवाही गर्न स्थानीयको माग

यहाँका स्थानीयले हत्या गरेर शव लुकाउन उखुबारीमा ल्याएर गाढेको हुनसक्ने भएकोले घटनाको गहन रुपमा अनुसन्धान गरिनुपर्ने स्थानीयले माग राखेका छन् । धनपालथान गाउँपालिका ७ का वडाअध्यक्ष हरिप्रसाद यादवले दुई जना पुरुषको शव उखुबारीमा गाढेको अवस्थामा फेला परेकोले हत्या भएको हुनसक्ने भएकोले गहन अनुसन्धान गरिनुपर्ने बताए । ‘शवको प्रकृति हेर्दा हत्या गरेर शव लुकाउन उखु बारी प्रयोग गरिएको देखिएको छ,’ उनले भने, ‘यस घटनामा प्रहरी प्रशासनले गहन रुपमा अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउनुपर्दछ ।’

बिहिबार, १३ माघ, २०७८, दिउँसोको ०३:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर