विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलले अविलम्ब प्रदेशसभाको बैठक बोलाउन माग गरेको छ । तीन महिनादेखि प्रदेशसभा बैठक नबोलाएको भन्दै एमालेले संसद बैठक बोलाउन माग गरेको हो ।

एमाले संसदीय दलको आज बसेको बैठकले संसद बोलाउने सहित विभिन्न सात बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएको छ । बैठकले गरेका निर्णयबारे जानकारी दिदैं एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले एमालेको नेतृत्वको सरकारले गरेका निर्णयलाई अहिलेको सरकारले जथाभावी खारेज गर्ने र एमाले संसदका क्षेत्रमा विनियोजित बजेट कटौती गर्ने कार्य रोक्न पनि माग गरेको छ ।

सरकारले खोपको समानुपातिक वितरणमा ध्यान दिनुपर्ने माग पनि एमालेले गरेको छ । राजनीतिक संस्कारका हिसाबले पनि सार्वजनिक लेखा समिति प्रमुख विपक्षीको जिम्मेवारीमा रहने भएपनि अहिले सत्ताधारी दलकै नेतृत्व रहेको राजभण्डारीले बताए । उनले आफ्नो पार्टी नेतृत्वको सरकारका पालामा भए गरेका काम र निर्णय फेरबदल भएका विषय छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको पनि बताए । उक्त समितिको संयोजक हिक्मत कार्की सदस्यहरुमा जीवन घिमिरे, तुलसीप्रसाद न्यौपाने, जगदीशप्रसाद कुसियत र बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।