परीक्षा दिँदै गरेका बाहेक विराटनगरका सबै विद्यालय बन्द गर्न निर्देशन

विराटनगर । कोरोना महामारी फैलिएपछि विराटनगर महानगरपालिकाले पुस २९ गतेबाट सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।बुधबार एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले पुस २९ गतेबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

महानगरपालिकाले शुक्रबारसम्मको पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न पाउने बताएको छ । विद्यालयको बर्से र हिउँदे बिदामा कटौती हुने गरी माघ १५ गतेसम्मका लागि बिदा दिन सूचना जारी गरेको महानगरले परीक्षा भएको अवस्थामा भने शुक्रबारसम्म स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको छ ।

संघीय सरकारले पुस २६ गतेबाट विद्यालय बन्द गर्न निर्देशन दिएपनि विराटनगरका विद्यालय सञ्चालन भइरहेका थिए । महानगरको निर्देशनपछि अब विद्यालय बन्द हुनेछन् ।

यसैबीच मोरङ प्रशासनले कोरोना न्यिन्त्रणको लागि सीमामा प्रभावकारी परीक्षण गर्ने निर्णय गरेको छ । सीमा नाकामा भइरहेको एन्टिजेन परीक्षणलाई अझ प्रभावकारी बनाउने र पोजेटिभ देखिएमा नेपाल आउनेको हकमा तत्कालै पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन विराटनगर महानगरपालिकालाई निर्देशन दिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । महानगरलाई तत्कालै आइसोलेसन सेन्टर सञ्चालन गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।

अहिले कोभिड अस्पतालमा ६ जना मात्रै सङ्क्रमित रहेकोमा त्यो बढ्ने देखिएकोले तयारी रहन प्रशासनले भनेको छ । आइसोलेसन सेन्टर र होल्डिङ सेन्टरलाई विगतको जस्तै तयारी अवस्थामा राख्न पालिकाहरूलाई निर्देशन दिएको प्रजिअ दाहालले बताए ।

भारतबाट आउनेलाई पिसिआर रिपोर्ट र खोपकार्ड देखाएपछि मात्रै प्रवेश गर्न दिइने भएको छ । सीमामा गरिएको परीक्षणमा भारतीय नागरिकलाई पोजेटिभ देखिएमा उत्तै फकाइनेछ ।

माघ १ गतेदेखि मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय प्रशासनले गरेको छ । प्रशासनले हाटबजारमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउँदै भीड कम गर्न भनेको छ ।

बुधबार, २८ पुष, २०७८, दिउँसोको ०४:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर