विराटनगर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने बताएका छन् ।
धरान दिवस २०७८ मा सहभागी हुन धरान आएका उनले प्रतिष्ठान सुधारमा लागिपर्ने बताए। प्रतिष्ठानका कुलपति समेत रहेका देउवाले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागिपर्ने प्रतिवद्धता जनाए ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पुर्वान्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पिठको उल्लेख्य सुधारको पक्षमा आफू रहेको बताए ।
साथै उनले धरान उपमहानगरपालिकामा तिलक राई मेयर भएपछि राम्रो काम भएको बताएका छन् । कम्युनिस्टको गढ तोड्दै राई विजयी भएपछि धरानको विकाशमा उल्लेख्य प्रगति भएको बताए ।
पार्टी सभापतिमा आफ्नो अन्तिम कार्यकाल भएको स्मरण गराउँदै देउवाले केही समयमै आउने तिनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोडी दिनुपर्ने बताएका हुन् ।
धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताए । अब पनि धरानमा काँग्रेसलाई जिताउन लागिपर्ने उनले आग्रह गरे ।
प्रधानमन्त्री देउवाले आज धरानका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर दिउसो आयोजित धरान स्थापना दिवसको उद्घाटन गरेका थिए। बिहान नेपाली सेनाको हेलिकोप्टरमा धरान आइपुगेका देउवा काठमाडौँ फर्किसकेका छन् ।