एमाले नेता धर्मराज निरौलाद्वारा एमाले परित्याग, नेकपा एसमा प्रवेश गर्ने तयारी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य धर्मराज निरौलाले एमाले पार्टी परित्याग गरेका छन् । उनी नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

निरौला सुनसरी नेकपा एमालेका इन्चार्जसमेत हुन् । माधव पक्षीय भनेर चिनिएका निरौला १० बुँदे सहमतिसँगै एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादीमा नगइ एमालेमै बसेका थिए । उनीसहित सुनसरीको एउटा टीम नै नेकपा समाजवादीमा प्रवेशको तयारी भएको स्रोतको दाबी छ । ‘टिममा केही कुरा मिलाउनु पर्ने भएकोले सार्वजनिक हिसावले नआएको मात्रै हो,’ एमाले छोड्ने तयारीमा रहेका एक नेताले भने, ‘आइतबार माधवकुमार नेपाल सहभागी हुने एक कार्यक्रमकाबीच थुप्र्रै साथीहरुले एमाले छोड्दै हुनुहुन्छ ।’

स्रोतका अनुसार निरौलालाई नेकपा (एस)ले पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने भएको छ । निरौला सुनसरीका पुराना एमाले नेता हुन् । उनलाई एमालेको भर्खरै सम्पन्न राष्ट्रिय अधिवेशनमा केन्द्रीय सदस्य बनाइएको थिएन । नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले निरौलाले समाजवादीमा आउने चाहना राखेको बताए । ‘उहाँले एमालेमा आउने चाहना राख्नु भएको छ, उहाँलाई पोलिटब्यूरोको जिम्मेवारी दिँदा उपर्युक्त पनि हुन्छ,’ खतिवडाले भने, ‘तर, अहिलेसम्म उहाँले आधिकारिक हिसावले लिखित रुपमा आउनु भएको छैन ।’

निरौला संविधानसभा सदस्य पनि हुन् । उनी समाजवादीमा प्रवेश गर्ने हल्ला चलेसँगै सुनसरी एमालेमा हल्लिखल्ली मच्चिएको छ । कतिपयले उनले ठिक निर्णय गरेको भनेका छन् भने कतिपयले उनले अवसरवादी चरित्र देखाएको भन्दै आलोचना सुरु गरेका छन् । पञ्चायतकालदेखि भूमिगत राजनीति गर्दै कुशल संगठकका रुपमा स्थापित निरौला वैचारिक र सैद्धान्तिक रुपमा प्रतिवद्ध मानिन्छन् । उनलाई शालिन व्यक्तित्वको रुपमा पनि हेरिन्छ ।

पुस १५, २०७८, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर