विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्थाबारे जानकारी लिएका छन् । उनले कोरोना संक्रमित बिरामीसँग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएका हुन् ।
पिपिई पोसाक लगाएर चिकित्सक टोलीसँगै कोभिड अस्पतालको एचडियु र आइसियु वार्ड भित्र गई मन्त्री कार्कीले उपचारमा उपलब्ध सेवाबारे संक्रमितबाट जानकारी लिएका हुन् । प्रदेश सरकारले संचालन गरेको अस्पतालमा अक्सिजन चाहिने र गम्भीर प्रकृतिका संक्रमितलाई उपचार सेवा उपलब्ध छ ।
‘भित्र चिकित्सकहरु नजाने गरेको, उपचारमा हेलचेक्राइँ हुने गरेको बाहिरबाट गुनासो आउने गरेको थियो त्यही भएर आफैं अवस्था बुझ्न गएको हुँ,’ मन्त्री कार्कीले भने । कार्कीले उपचारमा कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र फेरि ओमिक्रोन संक्रमण बढ्न सक्ने देखिएकोले अस्पतालको व्यवस्थापन लगायतका विषयमा छलफल गरी जानकारी लिएको बताए ।
कोशी कोभिडमा एक सय बेडसहित आइसियु र भेन्टिलेटरको समेत सुविधा छ । अहिले अस्पतालमा उपचार गर्नु पर्ने बिरामीको लागि कोशी कोभिडमा मात्र सेवा उपलव्ध छ ।