पाथीभरा क्षेत्रमा भारी हिमपात (तस्बिर)

विराटनगर । ताप्लेजुङको प्रसिद्ध मन्दिर पाथीभरा क्षेत्रमा भारी मात्रामा हिमपात परेको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै सो क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीन फिटसम्म हिउँ परेको पाथीभरा क्षेत्र फेदी बजारका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार फेदीबजार, काफ्लेपाटी र देउरालीसम्म नै बाक्लो हिउँ परेको छ । त्यस्तै सुकेटार विमानस्थल क्षेत्रसम्म नै बाक्लो हिउँ परेको छ । दुई हजार ४०० मिटर उचाइ रहेको सुकेटारमा धेरै वर्षपछि यसपटक हिउँ परेको स्थानीयले बताएका छन् ।

मङ्गलबार साँझ सुरु भएको वर्षा बुधबार बिहानैदेखि निरन्तर जारी रहेको र हिमाली क्षेत्रमा हिमपातको क्रम पनि जारी छ । स्थानीयका अनुसार उच्च डाँडाहरूमा बाक्लो हिमपात भएको छ भने जिल्लाको हिमाली बस्तीहरू ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्लालगायतमा बाक्लो हिउँ परेको छ । यस्तै घुन्सा र फलेमा पनि बाक्लो हिउँ परेको छ । घुन्सामा दुई फिट बढी हिउँ थुप्रेको छ । जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा (४,२०० मिटर) मा पनि निक्कै बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् ।

ताप्लेजुङ जिल्लास्थित हावापानी फिल्ड कार्यालयका १२.३ मिलिमिटर वर्षा भएको छ । अझै वर्षा र हिमपातको क्रम जारी रहेकाले हिमाली क्षेत्रभन्दा तल्लो भेगसम्म नै हिउँ आइपुग्ने सम्भावना बढेको स्थानीयको भनाइ छ ।

पाथीभरा क्षेत्रको सबै तस्बिर सौजन्य : राजेन्द्र महत

बुधबार, १४ पुष, २०७८, रातीको ०८:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर