विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाअधिवेशनमा पराजय व्यहोरेपछि आफ्नै भाइबहिनी सम्झिएका छन् । उनले भाइहिनीहरुलाई चित्त बुझाउन नसक्दा हारेको पनि बताए ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् । ‘हार्नुमा मेरो पनि कमजोरी होला, जस्तै मैले मेरै भाइबहिनीलाई मिलाउन सकिन, अब त्यतातिर नजाऔं, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भएकाले यसलाई मैले सामान्य रुपमा लिएको छु,’ सुजाता र डा. शशांकतर्फ इंगित गर्दै उनले भने ।
कोइरालाले अधिवेशनको विषय छाडेर आगामी तीन तहको निर्वाचनमा केन्द्रित हुन सबै नेता कार्यकर्तालाई आग्रह गरे । उनले महाअधिवेशनमा दुई धार भए पनि कांग्रेस एउटै पार्टी भएकाले आफू तीन तहको निर्वाचनमा केन्द्रित भइसकेको र अरुलाई पनि निर्वाचनमा केन्द्रित भएर लाग्न आग्रह गरे । ‘महाधिवेशनमा के भयो कसो भयो भन्नेतर्फ अब नलागौं,’ उनले भने, ‘कसरी आगामी निर्वाचनमा कांग्रेसलाई जिताउने भन्नेतर्फ ध्यान केन्द्रित गरौं ।’
कोइरालाले बरियताभन्दा पनि कार्यकर्ताको माया महत्वपूर्ण रहेकाले आफूले बरियतालाई महत्व नदिएको प्रस्ट्याए । कार्यकर्ताबाट आफूले माया पाएको बताउँदै उनले विगतमा के भएको थियो र कांग्रेसको विधानले के भन्छ भन्ने विषयले महत्व राख्ने उनको विचार थियो । कोइरालाको स्वागतमा विराटनगर विमानस्थलमा स्थानीय नेता कार्यकर्ताको भीड लागेको थियो ।