सोलुखोला जलविद्युत्‌ परीक्षणका क्रममा दुर्घटना हुँदा दुई इन्जिनियरको मृत्यु

विराटनगर । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । साथै परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन्

सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट भएको थियो। आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो ।

घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले बताए ।

पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए ।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर नै गम्भीर घाइते भएका छन् । विराटनगर निवासी घाइते मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थाका उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

पुस १२, २०७८, बिहानको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर