काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारी संख्या बढाउने भएको छ । आज बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो ।
आजको बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।
यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।
महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीतसहित प्रतिनिधि १६०० को हाराहारिमा छन् ।