स्वास्थ्य क्षेत्रमा बिचौलिया राज : कमिसनको लोभमा यसरी लुटिन्छन् विरामी

स्वास्थ्य क्षेत्रमा बिचौलिया राज : कमिसनको लोभमा यसरी लुटिन्छन् विरामी

विराटनगर । ‘हस्पिटल जानुहुन्छ ? यो क्लिनिक र यो अस्पतालमा राम्रो उपचार हुन्छ । राम्रो चिकित्सक छन् । यहाँ जानुभयो भने धेरै राम्रो उपचार हुन्छ ।’ विराटनगरको शनि मन्दिर चोक, रंगेली जाने बसपार्क हाटखोला, कन्चनबारी चोकमा बसेका अस्पतालका विचौलियाले सर्वसाधारणलाई आग्रह गर्ने भनाइ हो यो ।

विचौलियाहरुले तराईका गाउँ तथा पहाडबाट उपचारका लागि आएका सर्वसाधारणलाई भुलभुलैयामा पारेर आफूलाई कमिसन दिने अस्पतालमा लैजाने गरेका छन् । उनीहरु यस्तै काममा खटाइएका फार्मेसीका अघोषित कर्मचारी पनि हुन् । उपचार गर्न आएका विरामीलाई कमिसनको लोभमा अन्यत्रैका अस्पताल र क्लिनिनमा पु¥याएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरबाट उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम नगरपालिका ८ का २० वर्षीय सागर राई, खोटाङ जन्तेढुगां गाउँपालिकाका २४ वर्षीय विशाल राई र विराटनगर ५ का १९ वर्षीय मोहमद सेराजलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनीहरुले उपचार गर्न आएका विरामीलाई आफ्नो सम्पर्कमा रहेको अस्पताल, क्लिनिकमा राम्रो उपचार हुने भन्दै विरामीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । प्रहरीले यसअघि विराटनगरबाट एक दर्जनभन्दा बढी बिचौलियालाई कारवाहीको दायरामा ल्याइसकेको छ ।

सबैभन्दा बढी विचौलिया विराटनगरको हस्पिटल चोक, गोल्डेन अस्पताल अगाडि, नोबेल अगाडि, विराट नर्सिङ्ग होम र न्यूरो चोकमा बस्ने गरेका छन् । हस्पिटल चोकमा च्याउ सरी खुलेका निजी क्लिनिकहरुले ३ देखि ५ जनासम्म दैनिक विचौलिया खटाउने गरेका छन् । उनीहरुको उद्देश्य बिरामीको राम्रो उपचार होस् भनेर भन्दा पनि बढी कमिसन कसले दिन्छ र उनीहरुलाई बढी कसरी लुट्ने भन्ने नै हुने गरेको जानकारहरु बताउँछन् ।

प्रदेश १ को राजधानी विराटनगरभित्र रहेका ठूला अस्पताल बाहिरका केही फार्मेसी संचालकहरूले कमिसन दिएरै विचौलिया राख्ने गरेको पाइएको छ । विराटनगरको हस्पिटल चोकमा रहेका केही क्लिनिकहरुले धेरै विचौलिया राखेको स्रोतको दाबी छ । विचौलिया राखेका फार्मेसीले विरामीलाई भ्रमित पारेर आफू अनुकुलको निजी अस्पताल, क्लिनिक र आफ्नै औषधि पसलमा ल्याउन उनीहरुलाई जिम्मा दिन्छन् ।

१ नंं. प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरी कार्यालयले एक सातामा विराटनगरभित्र रहेका ठूला अस्पताल बाहिर स्टिङ अप्रेसन गरेर १७ जना स्वास्थ्य क्षेत्रका विचौलियालाई पक्राउ गरेको छ । प्रहरीले यसअघि नोबेल मेडिकल कलेज बाहिर ७ जना, कोशी अस्पताल अगाडिदेखि तीन जना, केही दिनअगाडि अगाडी न्यूरो अस्पताल अगाडिदेखि २ जना र विराट नर्सिङ होम नजिकबाट पाँच गरि १७ जना विचौलियालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरु सबै फार्मेसीका कामदारहरु हुन् ।

पक्राउ परेका विचौलियाले विभिन्न अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल र क्लिनिकमा उपचारको लागि पुर्याउने र सम्पर्कमा भएको फार्मेसीमा औषधि किन्न बाध्य गराउने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

‘विराटनगरको विभिन्न अस्पताल अगाडि बसेका विचौलियाले बिरामी र सर्वसाधारणलाई दुःख दिएर हैरानी दिने गरेको उजुरी आएपछि हामीले पक्राउ गरेका हौं,’ मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने । पछिल्लो समय सरकारी अस्पताल कोशी र मेडिकल कलेजमा विरामी धेरै आउने भएकोले विचौलियाहरु अस्पतालको गेट अगाडि बस्ने गर्दछन् ।

स्रोतले दिएको जानकारी अनुसार एक जना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक र अस्पताल पु¥याउँदा विचौलियाले हजार रुपैयाँसम्म दिने गर्दछन् । जति बढी बिरामीले औषधि र ल्याबमा परीक्षण गरे त्यहीअनुसार बिरामीबाट असुल भएको रकम हेरेर पनि विचौलियालाई पैसा दिने गरेको स्वास्थ्य क्षेत्रमै काम गरिरहेका एक जनाले बताए ।

‘विचौलियाले हस्पिटल चोक र रंगेली लाइनमा रहेका निजी क्लिनिकहरुसँग कतिसम्म सम्झौता गरेका हुन्छन् भने एक जना बिरामीबाट २० हजारभन्दा बढीको बिल भयो भने निश्चित रकम लिनुपर्ने शर्त राखेका हुन्छन्,’ उनले भने, ‘बिरामीको २० हजारको बिल भयो भने विचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनुपर्दछ ।’

यस्तै विचौलियाले सम्र्पकमा गरेको निजी अस्पतालको भेन्टिलेर र आइसियुमा विरामी भर्ना भए पनि अस्पतालले निश्चित रकम छुट्याइदिने गरेको छ । विरामी आइसियू र भन्टिलेरमा भर्ना भए विचौलियालाई २० हजार रुपैयाँसम्म दिने गरेको स्वास्थ्य क्षेत्रका एक जानकारले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्