विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले सहमतिमा पदाधिकारी छान्न नसकेपछि आज निर्वाचन प्रकृया अगाडि बढाएको छ ।
पदाधिकारी निर्वाचित गर्न साँझ ७ बजेबाट मतदान गर्ने गरी निर्वाचन समितिले निर्वाचन प्रकृया अगाडि बढाएको हो । प्रदेश कमिटीमा निर्वाचित हुने नौं जना पदाधिकारीका लागि ३३ जनाको उमेदवारी दर्ता भएको छ ।
अध्यक्ष पदमा हर्कबहादुर नेम्वाङ्ग, मुक्साहाङ मेयाङ्बो र कुबेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । तीन उपाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ भने एक जना सचिव पदमा गणेश उप्रेती सुशिल, सिपी कडरिया र विरेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । तीन जना सहसचिव पदका लागि १४ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
साँझ ७ बजे भित्र उम्मेदवारी फिर्ता लिई अन्तिम नामावली प्रकाशन गर्ने र लगतै मतदान आरम्भ गर्ने तयारी निर्वाचन समितिले काम गरिरहेको छ ।
मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको नेकपा माओवादी केन्द्रले पदाधिकारी भने सहमतिमा छान्न सकेको थिएन । पटक पटक सहमतिको प्रयास गरेपनि सफल नभएपछि आज बुधबार अपरान्हबाट निर्वाचन प्रकृया अगाडि बढाएको हो ।