काठमाडौं । कोरोना विरुद्धको खोप अभाब हुन नदिन सिरिन्जको आपूर्ति थालिएको सरकारले जनाएको छ ।
केही जिल्लामा अहिले सिरिन्ज अभाव भएको खबर आउन थालेको छ । तर, अभाव भएका ठाउँमा पठाउन केन्द्रसँग नै सिरिन्ज छैन । सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय भण्डार अहिले रित्तो छ । तर, आउँदो शनिबार भारतबाट ५० लाख सिरिन्ज आउने निश्चित भएकाले समस्या नहुने उहाँको भनाई छ ।सिरिन्ज आउनासाथ अभाव भएका ठाउँमा पठाइने पनि उहाँले बताउनुभयो ।
कोरोना विरुद्धको ओमिक्रोन भेरियन्ट देखिएसँगै सरकारले खोप अभियानलाई तीब्रता दिएको छ । यसकै कारण पनि सिरिन्जको माग धेरै छ ।
अहिले देशभर एक करोड २२ लाख ४० हजार डोज खोप मौज्दात छ ।
तर, खोप अभियानले सोचे जति गति लिन नसकेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।
यसैबीच, विज्ञले अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई वितरण भइरहेको खोप सुरक्षित भएकाले ढुक्क भएर लगाउन सुझाव दिएका छन् ।