माओवादी प्रदेश १ पदाधिकारी चयन : सहमति नजुटेपछि निर्वाचनमा जाने तयारी

विराटनगर । प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक आगामी पुस ७ गते बस्दैछ । प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित समितिको उक्त बैठकले पदाधिकारी चयन गर्ने भनिए पनि अहिलेसम्म सहमतिको कुनै सम्भावना देखिएको छैन ।

यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी रहेका छन् । उक्त समितिको सोमबार बसेको बैठकमा पनि कुनै सहमति नजुटेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठक मङ्गलबारका लागि बोलाइएको छ ।

‘सो बैठकमा कार्यदलको निष्कर्ष सुनाउने र निर्वाचन प्रक्रियामा जानेबारे सहमति हुनसक्ने देखिन्छ,’ कार्यदलका एक सदस्यले बताए, ‘बैठकमा पदाधिकारी चयनका लागि हुने निर्वाचन प्रक्रिया चाहीं पार्टीको राष्ट्रिय सम्मेलनअगाडि सक्ने कि राष्ट्रिय सम्मेलनपछाडि गर्ने भन्ने विषयमा छलफल हुनेछ ।’

पदाधिकारी छनौटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यहरुले जोड दिएका छन् । ‘आफैं अध्यक्ष बन्ने गरी सहमति गरेर आउनुहोस् भन्दा पनि सहमति हुन सकेन बरू हामी छोड्छौं भन्ने सहमति गरेको खबर लिएर आउनेहरुलाई नै प्रदेशका पदाधिकारी चयन गर्ने जिम्मा दिएपछि हुने नै यस्तै हो,’ एक प्रदेश सदस्यले भने, ‘अब निर्वाचन प्रक्रिया नै एउटै विकल्प हो ।’

अध्यक्षलगायत नौ पदाधिकारीका आकांक्षी जिल्लैपिच्छेका आ–आफ्नो दाबी गर्दै फेसबुकको प्रचारमा देखिएका छन् । अहिलेसम्म प्रदेश अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी, देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन् । महिला उपाध्यक्षमा संखुवासभाकी इन्दीरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी वि.क.लगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादव, झापाका पूर्णसिं राजवंशीलगायतले दाबी गरेका छन् । खुल्ला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ ।

यस्तै सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन् । सहसचिवमा भने सोलुखुम्बुका ठमनाथ पराजुली, सुनसरीका मजदुर नेता भानु मैनाली र मोरङकी रचना राईले दाबी गरिरहेका छन् । कोषाध्यक्षमा धेरैले चासो नदेखाए पनि सुनसरीका मदन चुँडाल, भोजपुरका भविन्द्र अधिकारीलगायतले दाबी गरेका छन् ।

कतिपय माओवादी नेताहरुले निर्वाचन प्रक्रियामा जाने विषयमा पनि विवाद रहेको बताएका छन् । ‘विधानमा २५९ सदस्यीय प्रदेश समिति रहने व्यवस्था छ । तर, अधिवेशनबाट २५१ जनाको नाम पढेर पास गरियो । सपथ ग्रहण र प्रमाणपत्र वितरण समारोहमा २७६ जनालाई सहभागी गराइयो । अब निर्वाचन प्रक्रियामा जाँदा कति जनाले मताधिकार राख्छन् भन्ने विषयमै विवाद हुने देखिएको छ,’ एक माओवादी नेताले विधान विपरीत गरिएका कामको फेहरिस्त सुनाउँदै भने, ‘विधान बमोजिम गर भनेर हामीले भनेको पनि गर्दैनन्, विधानको पालना पनि गर्दैनन्, आफू पनि ढंग पु¥याउँदैनन्, अब झन् ठूलो समस्या आउने देखिएको छ ।’

माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मङ्सिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न भएको थियो । उक्त अधिवेशनमा पदाधिकारी चयन हुन नसकेपछि कार्यदलले टुंगो लगाउने गरी अधिवेशन अन्त्य गरिएको थियो । अधिवेशनपछि विराटनगरमा बसेको प्रदेश कार्यसमितिको पहिलो बैठकमा पनि नेतृत्व चयनको विषयमा विवाद सिर्जना भएको थियो ।

सोमबार, ०५ पुष, २०७८, दिउँसोको ०४:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर