उदयपुर । नेकपा माओवादी केन्द्र उदयपुरका नेता तथा संविधानसभा सदस्य मोहनबहादुर खत्री (हेनरी)ले नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा दाबी गरेका छन् ।
खत्रीले एक विज्ञप्ति जारी गर्दै अबको माओवादी केन्द्र प्रदेश १ को प्रदेश समितिमा अध्यक्षमा आफ्नो दाबी रहेको घोषणा गरेका हुन् । ‘नेकपा (माओवादी केन्द्र) प्रदेश १ को प्रथम अधिवेशनको पदाधिकारी चयन सम्बन्धि छलफलको क्रममा बुधबार दाबी गरिरहनु भएका केन्द्रीय सदस्य कमरेडहरुले दाबी छोडेको अवस्थामा मेरो पनि अध्यक्ष पदको लागि दाबी रहेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खत्रीले अहिलेको प्रदेश समितिमा सिनियर भएको दाबी गरेका छन् । जनयुद्धको प्रारम्भदेखि नै पूर्णकालिन भएर इतिहासले दिएको जिम्मेवारी निरन्तर पार्टीको अग्र मोर्चामा नै रहेर पार्टी संगठन र आन्दोलनको नेतृत्व गरेको बताउँदै उनले ‘इतिहासले दिएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्दै यहाँसम्म आएको छु’ भनेका छन् ।
पदाधिकारी चयनका लागि माओवादीको प्रदेश समितिको दोस्रो बैठक आगामि पुस ७ गते विराटनगरमा बस्दैछ । तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोडेपछि सुनसरीका सह–इन्चार्ज रहेका शिबकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो तथा पाँचथरका सह–इन्चार्ज रहेका हर्कबहादुर नेम्वाङ, झापाका संयोजक मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्कीले अध्यक्षको दाबी गरेका छन् । अब प्रदेश अध्यक्षको दाबी गर्नेको संख्या ६ पुगेको छ ।