माओवादी प्रदेश १ को नेतृत्व लिन होडबाजी : अध्यक्ष र सचिवमा दाबी गर्नेको लर्को

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको संख्या दिनदिनै बढिरहेको छ ।

मोरङको विराटचौकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरेपनि पदाधिकारी चयनमा विवाद भएपछि नेतृत्व चयनलाई थाँती राखेको थियो ।

यसअघि अध्यक्षको दावी गरिरहेका केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले आफ्नो दाबी छाडेपछि प्रदेशका नेताहरुले धमाधम आफ्नो दावी राख्न थालेका छन् । प्रदेश समितिको बुधबार बसेको पहिलो बैठकमा तीनै जनाले प्रदेश समितिमा नरहने घोषणा गरेपछि केन्द्रीय सदस्यबाहेका प्रदेश सदस्यहरुलाई नेतृत्व लिने बाटो खुलेको छ ।

यसअघि केन्द्रीय सदस्यबाटै अध्यक्ष बन्छन् भन्ने विश्वासमा बसेको प्रदेश समितिका अन्य नेताहरुले अध्यक्षमा दाबी गरेका थिएनन् । अध्यक्ष को बन्छ भन्ने यकिन नभएको कारण उनीहरुले अन्य पदको पनि खुलेर दावेदारी पेश गरेका थिएनन् । तर, केन्द्रीय सदस्यबाट दाबी हटेसँगै समान हैसियतका नेताबीच अध्यक्षको दाबी गर्ने होडबाजी नै चलेको छ ।

‘यो होडबाजीले प्रदेश समिति कस्तो बन्छ र भोलिका दिनमा संघीयता कसरी स्थापित हुन्छ भन्ने विषयमा प्रश्न उठेको छ,’ माओवादीका एक जना प्रदेश सदस्यले भने, ‘नेताहरू आएर दह्रो समिति र पदाधिकारीको टिम बनाउलान् भनेको सहमति गर्न नसकेपछि जुनियरहरूलाई जिम्मा दिँदै पछि हटेपछि प्रदेश समिति कमजोर बन्ला भन्ने पिर भएको छ ।’

अहिलेसम्म अध्यक्षमा दाबी गर्नेहरुको संख्या ६ पुगेको छ । जसमा पाँचथरका हर्कबहादुर लावती (मिक्सो), सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) रहेका छन् । दाबी गर्नेको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

माओवादीले नेतृत्व चयनका लागि भन्दै आगामी पुस ७ गतेलाई कार्यसमितिको बैठक आव्हान गरेको छ । उक्त बैठकमा पदाधिकारीको चयनबारे सुझाब दिन भन्दै प्रदेश १ माओवादीका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काङमाङको नेतृत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरेको छ । कार्यदलका अन्य सदस्यहरुमा सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम), हेमराज भण्डारी र केन्द्रीय सदस्य रामकुमारी चौधरी रहेका छन् ।

यस्तै माओवादीको उपाध्यक्ष पदका लागि खोटाङका ध्रुव बुढाथोकी (धिरेन), झापाका सिपी कडरिया र विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गरेका छन् । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दीरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना)लगायतले आकांक्षा राखेका छन् ।

यस्तै सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर), सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुंगानाले सशक्त दाबी गरेका छन् । सचिबमा निर्वाचन भए आफू पनि भिड्ने झापाका सीपी कडरियाको भनाइ छ ।

यस्तै सहसचिवमा आकांक्षा राख्नेको संख्या धेरै भएपनि अहिलेसम्म सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक गरेका छन् । उनले आफू सहसचिवको दाबेदार रहेको बताएका छन् । कोषाध्यषमा भने सुनसरीका मदन चुँडालले दाबी गरेका छन् । हालसम्म नेतृत्वमा खुलेर दाबी गर्नेहरुमा अधिकांश पुरुष रहेका छन् । पदाधिकारी दाबी गर्नेमा ताप्लेजुङका बिजय बनेमसमेत रहेका छन् ।

मंसिर २५ र २६ गते मोरङको विराटचौकमा सम्पन्न माओवादी केन्द्र प्रदेश १ को अधिवेशनबाट नेतृत्व छान्न नसकेपछि माओवादीले २७१ जनाको समिति चयन गरेको थियो । समितिबाटै पदाधिकारी चयन गर्ने माओवादीको विधानमा व्यवस्था छ ।

माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

शुक्रबार, ०२ पुष, २०७८, बिहानको १०:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर