माओवादी केन्द्र धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

माओवादी केन्द्र धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् ।

२०२३ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका ढुंगाना ४० वर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०३७ सालमा विद्यार्थी संगठनबाट राजनीति यात्रा सुरु गरेका हुन् । शिक्षण पेशा छोडेर माओवादी जनयुद्धमा लागेका ढुंगाना यसअघि पार्टीको प्रदेश कमिटी सदस्य पनि थिए ।

आफुले प्रदेश सचिवमा उम्मेद्वारी दिएको घोषणा गर्दै नेता ढुंगानाले सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सचिव पदमा दाबी पेश गर्न चाहन्छु,’ नेता ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले चार दशक लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको उचित मुल्यांकन गरेर सबै कमरेडहरुले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’

यसअघि धनकुटाकै नेता हेमराज भण्डारी प्रदेश सचिव थिए । प्रदेश अध्यक्ष दाबी गर्दै आएका भण्डारी पछि हटेपछि जिल्ला संयोजक ढुंगानाले प्रदेश सचिवमा दाबी प्रस्तुत गरेका हुन् । नेता ढुंगानाले कुनैपनि हालतमा आफु पछि नहट्ने बताएका छन् ।

गत शनिवार मोरङको विराटचौकमा माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु भएको हो । अधिवेशनले प्रदेश समितिका २७१ जना सदस्य सर्वसम्मत चयन गरेको छ । गैर भूगोलबाट १ सहित धनकुटाका १४ जना सदस्यमा परेका छन् । तर, आकांक्षी बढी हुँदा पदाधिकारीको टुंगो लाग्न भने सकेको छैन ।

अधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सह–सचिव र एक कोषाध्यक्ष गरी नौ सदस्यीय पदाधिकारी छान्नुपर्नेछ । पुस ७ गतेसम्ममा पदाधिकारीको टुंगो लगाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले सहमतिको प्रयास गरिरहेको माओवादी केन्द्रले जनाएको छ । ७ गतेका लागि पदाधिकारीको टुंगो लगाउन भन्दै कार्यसमितिको बैठक समेत आव्हान गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्