एमाले मोरङद्वारा १६५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीको बिहीबार बसेको बैठकले १६५ सदस्यीय नवौं जिल्ला सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
विद्यमान जिल्ला कमिटीबाट कतिपय पदाधिकारी र सदस्यहरु प्रदेश कमिटीमा निर्वाचित भएका कारण सहजरुपमा जिल्ला सम्मेलन सम्पन्न गर्न बैठकले रिक्त रहेको पदाधिकारीमा पदपूर्तिसमेत गरेको छ ।

बैठकले ऋषिकेष पोखरेल संयोजक, बाबुराम कार्की सहसंयोजक र रुपेश खतिवडा सचिव रहने गरी सम्मेलन आयोजक समिति गठन गरेको एमाले मोरङका संयोजक ऋषिकेश पोखरेलले जानकारी दिए ।

यस अघि सम्पन्न प्रदेश अधिवेशनबाट जिल्ला कमिटीका कतिपय पदाधिकारी र सदस्यहरु प्रदेश कमिटीमा निर्वाचित भइसकेको भएपनि बिहीबारको बैठकले उनीहरुलाई सम्मेलनसम्म जिल्ला कमिटीमा यथावत राख्ने निर्णय गरेको छ ।

नेकपा एमालेले पुस २३ र २४ गते नवौं मोरङ जिल्ला सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनलाई व्यवस्थित गर्न र विभिन्न व्यवस्थापकीय कामको जिम्मेवारी बाँडफाँड गर्न आयोजक कमिटीमा पदाधिकारीको व्यवस्था गर्नु परेको संयोजक पोखरेलले बताए ।

नेकपा एमाले मोरङको बिहीबारको बैठकमा प्रदेश कमिटी सदस्य पर्शुराम वस्नेत लगायत उनी निकटका रविन थापा, सन्तोष वान्तवा लगायतले जिल्ला कमिटी बैठक बहिष्कार गरेका थिए । उनीहरुले सम्मेलनको पूर्व सन्ध्यामा पदाधिकारी थप गर्ने तयारी गरेको भन्दै असन्तुष्टि जनाएर बैठक बहिष्कार गरेको बताएपनि पदाधिकारीमा उनीहरुको दाबी सुनुवाई नभएपछि बैठक स्थल छोडेर हिडेको बताइएको छ ।

युवाहरुको एउटा समूहले बैठक बहिष्कार गरेको विषयमा संयोजक पोखरेलले आफूले पनि अन्यत्रबाट त्यस्तो कुरा सुनेको बताउँदै कुनै महत्वपूर्ण विषय भए छलफल गरेर सहमति खोज्न सकिने बताए । उनले अहिलेसम्म पार्टीमा त्यो विषय औपचारिक जानकारीमा नआएको बताए ।

 

बिहिबार, ०१ पुष, २०७८, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर