विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताएका छन् । उनले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवश्यक रहेकोमा जोड दिए । सामुदायिक विद्यालयहरुहरु नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको उनको भनाइ छ ।
मोरङ सुन्दरहरैचा–१० को सुकुना माविको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले आधुनिकीकरणका नाममा विद्यार्थीहरुले संस्कार विर्सदै गएकोमा चिन्ता व्यक्त गरे । ‘विकास मात्र हैन, नैतिक शिक्षा पनि आवश्यक छ,’ उनले भने । सुकुना मावि नमूना विद्यालय भएको भन्दै उनले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । ‘विगतमा पनि प्रदेश सरकारबाट भएको सहयोग शिक्षा विकासमा लगानी भएको छ, हामी सहयोगलाई निरन्तरता दिन्छौं,’ यादवले भने ।
सुकुना माविले विभिन्न आरोह–अवरोह पार गर्दै ५० औं वर्षमा प्रवेश गरेको भन्दै मन्त्री यादवले विद्यालयको थप सफलताको कामना गरे । सामुदायिक विद्यालयहरुमा सुधार आवश्यक रहेकोमा उनको जोड थियो ।