माओवादीको प्रदेश अध्यक्षमा तीन जनाको दाबी, यी हुन् नौ पदाधिकारीका दावेदार ?

विराटनगर । विराटनगरमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि कार्यदल गठन भएको छ । सहमतिबाटै नेतृत्व चयनको पहल गर्न पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशका सहइञ्चार्ज अजम्बर काम्बाङको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

मंसिर २५ देखि २७ गतेसम्म भएको सम्मेलनबाट माओवादी केन्द्रको प्रदेश कमिटि चयन भएपनि पदाधिकारी चयन हुन सकेको छैन । प्रदेशको अध्यक्षको दावी गर्दै आएका पार्टीका केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले भने बुधबारको बैठकमा आफ्नो दावेदारी फिर्ता भएको जानकारी दिएका छन् ।

प्रदेश समितिको समितिको पहिलो बैठकमा आफूहरु ‘ब्याक’ हटेको जानकारी दिएसँगै अब केन्द्रीय सदस्य बाहेकबाट पदाधिकारी चयन हुने भएको छ । पदाधिकारी चयन गर्न पुस ७ गते बैठक बस्ने निर्णय मंगलबारको बैठकले गरेको छ ।

‘केन्द्रीय सदस्यहरुले दावेदारी छाडेपछि अब नयाँ नेतृत्व चयनको पहल गर्न कार्यदल गठन गरिएको हो’ पार्टीका केन्द्रीय सदस्य सावित्रिकुमार काफ्लेले भने, ‘कार्यदलले आगामी बैठकमा आफ्नो सुझाब राख्ने र प्रदेश समितिले त्यसको टुंगो लगाउने छ ।’ काम्बाङ नेतृत्वको कार्यदलमा यसअघि प्रदेश अध्यक्षको दावी गर्दै आएका राई, आङ्बो र भण्डारीसहित केन्द्रीय सदस्य रामकुमारी चौधरी सदस्य छन् ।

पार्टीको प्रदेश ७ गतेको बैठकसम्म सहमति नजुटे प्रक्रियाबाट त्यसको टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटिले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिब, ३ सहसचिब र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वका आकांक्षीहरुले दाबेदारी अगाडि बढाएका छन् । पार्टीको सुनसरीका सह–इन्चार्ज रहेका शिबकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो तथा पाँचथरका सह–इन्चार्ज रहेका हर्कबहादुर नेम्वाङले अध्यक्षको दावी गरेका छन् ।

यस्तै प्रदेश समितिको उपाध्यक्षमा खोटाङका ध्रुब बुढाथोकी, झापाका सीपी कडरिया, मोरङका भोगेन्द्र यादवले दावी गरेका छन् । प्रदेश समितिको सचिबमा मोरङका गणेश उप्रेतीको दावेदारी देखिएको छ । पदाधिकारीको दावेदारी पेश गर्ने अन्यमा झापाका विजय साङ्पाङ, ताप्लेजुङका बिजय बनेमसमेत छन् ।

केन्द्रीय सदस्यहरुले प्रदेश समितिमा नबस्ने निर्णय गरेसँगै पदाधिकारीका दाबेदारहरु खुल्न थालेका हुन् । यसअघि उनीहरुले आफ्नो दावेदारी प्रस्तुत गरेका थिएनन् । दावेदारको संख्या बढ्दै जाने देखिएको छ । प्रदेश समितिको पहिलो बैठक विराटनगरका पुराना माओवादी नेता टंक गिरी (महेश)को अध्यक्षतामा सञ्चालन भएको थियो । बैठकले प्रदेश कमिटीलाई पूर्णता दिन र समावेशिताको क्लष्टर मिलाउन सावित्रिकुमार काफ्लेको नेतृत्वमा र प्रदेश अधिवेशनमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिन धर्मशिला चापागाईको नेतृत्वमा छुट्टाछुट्टै कार्यदलसमेत गठन गरेको छ ।

बुधबार, २९ मंसिर, २०७८, रातीको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर