माईजोगमाई अध्यक्ष कप : उपाधिको लागि माई नगरपालिका र मानेभञ्ज्याङ भिड्ने

नयाँबजार (इलाम) । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको लागि माई नगरपालिका सुखानी र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारत बिच प्रतिस्पर्धा हुने छ । आज सम्पन्न सेमीफाइनलको खेलमा बिजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन् ।

सेमीफाइनल खेलमा सुखानीले रेडहर्स फुटबल क्लब इलाम र मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान २–० गोल अन्तरले पराजित गरेको थियो । पहिलो सेमीफाइनल खेलमा सुखानीको जीतको लागि दोश्रो हाफको पहिलो मिनेटमा विक्रम तामाङले अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा सौगात गोम्देनले गोल गरेपछि सुखानी फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच विक्रम तामाङ घोषित भए ।

मानेभञ्ज्याङको जीतका खेलको २० औ मिनेट र इन्जुरी समयमा सुराग क्षेत्रीले गोल गरे । खेलको म्यान अफ दि म्याच सुराग घोषित भए । माईजोगमाई गाउँपालिका–१ नयाँबजारको बालागुरु खेलमैदानमा संचालनमा रहेको प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । विधागत रुपमा समेत खेलाडीहरुले पुरस्कार पाउने छन् ।

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषदले गत मंसिर २१ गतेबाट प्रतियोगिताको आयोजना गरेको हो ।

शुक्रबार, २४ मंसिर, २०७८, साँझको ०६:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर