विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तिमुढास्थित १४ वर्षीय निश्चल रायको रहस्मय मृत्युको घटनाको सत्यतथ्य सार्वजनिको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् ।
प्रहरीले गम्भीरता नदेखाएको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक माग राख्दै विद्यार्थीहरूले मृतकका आफन्त र बुढीगंगाका स्थानीयले बुधबार मोरङ प्रशासन घेराउ गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले दिउँसो १ देखि २ बजेसम्म प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।
यसअघि मंगलबार निमुवामा एक घण्टा चक्का जाम गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । न्याय माग्दै बुढीगंगाका स्थानीय आवद्ध भएका संघर्ष समितिले यसअघि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बुढीगंगाको स्थानिय आवद्ध भएको संघर्ष समितिले उच्चस्तरिय छानविन समिति गठन गरि घटनाको सत्यतथ्य सार्वजानिक र दोषीलाई कारवाही गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, शान्ति सुरक्षा सुव्यवस्थापन गरिनुपर्ने माग छ ।
कात्तिक २२ गते घर नजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चलको २४ गते बिहान सिंघीया खोलामा शव फेला परेको थियो । हराएपछि पटक–पटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो ।
बालकको हत्याभएको महिनादिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउनुपर्ने, पोस्टमार्टम रिपोर्ट सार्वजनिक गरिनुपर्ने माग राखेका छन् ।