विराटनगर । क्यान्सरपीडित विरामीले दुखाई सहन प्रयोग गर्ने औषधि पछिल्लो समय लागूऔषधका रुपमा दुरुपयोग भइरहेको पाइएको छ ।
यसरी इजाजत बेगरका औषधिको चरम दुरूपयोग गर्दै लागूऔषध बनाउने र त्यसलाई प्रदेश १ का विभिन्न शहरमा पुर्याउनेलाई प्रहरीले फेला पारेको छ । भारतबाट तस्करी गरेर प्रतिबन्धित औषधि सुनसरीको धरानमा ल्याउने र त्यसलाई मिश्रण गरी लागूऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहले यसरी औषधि दुरुपयोग गरेको भेटिएको हो ।
यसरी धरानमा बसेर प्रतिबन्धित औषधिलाई लागूऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका ५ बगरकोटका २४ वर्षीय अनम राई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । राईलाई पक्राउ गरि औषधि व्यवस्था विभाग विराटनगरले अहिले अदालतमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।
राईले धरानको बगरकोटमा बसेर तीन वटा प्रतिबन्धित औषधि डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर बिक्री गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए ।
लागुऔषध प्रयोगकर्ताले यी तीनवटा औषधि मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागूऔषधको काम गर्ने उनको भनाइ छ । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधि अन्य खाले दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।
‘प्रतिबन्धित औषधिहरू भारतदेखि भित्र्याएपछि धरानको बगरकोटमा राईले आफ्नो घरमा ल्याएर राख्ने गरेका छन् । अवैध रूपमा ल्याएको औषधिको चरम दुरूपयोग गर्दै उनले युवाहरूलाई लागूऔषध बनाएर बिक्री गरेको पाइयो,’ उनले भने । यसरी औषधिलाई लागूऔषध बनाएर बिक्री वितरण गर्न उनलाई पत्नी मनिषा राईले सहयोग गर्ने गरेको पनि गरेको खुलेको छ । यसअघि गत वर्ष २ असारमा मनिषालाई प्रहरीले प्रतिबन्धित औषधिको बिक्री बितरण गरेको आरोपमा पक्राउ गरेको थियो । त्यसबेला उनका श्रीमान अनम फरार थिए । फरार राईको खोजी कार्यमा प्रहरी सक्रिय भएर लागिपरेको थियो । एक साता अगाडि धरानको बगरकोटमा आफ्नै घरमा प्रतिबन्धित औषधि मिसाएर लागूऔषध बनाएर बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले राईलाई पक्राउ गरेको हो । राईको घरबाट प्रहरीले ८ हजार ८ सय ५० क्याप्सुल प्रतिबन्धित औषधि बरामद गरेको थियो ।
बरामद गरेको प्रतिबन्धित औषधिहरू राईले भारतमा २० देखि ३० रुपैयाँ पत्ता खरिद गरेर ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । ‘प्रतिबन्धित औषधि धरानमा ल्याएपछि ट्रामाडोल र स्पासपेन मिलाएर लागूऔषध बनाएर ५ देखि ७ सय रूपैयाँसम्म बिक्री वितरण गर्ने गरेको खुलेको छ ,’ कार्यालय प्रमुख कट्टेलले भने ।
राईले धरान, इटहरीसहित पूर्वका अन्य शहर र मोरङको केराबारी, बेलबारी, उर्लाबारी, मधुमल्ला, पथरी, बेलबारीलगायतका ठाउँमा बिक्री बितरण गर्दै आएको पाइएको विभागले जनाएको छ ।
डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधको रुपमा सेवन गर्दा शारिरीक र मानसिक रुपमा असर गर्नुको साथै स्मरण शक्तिमा ह्रास आउने औषधि व्यवस्था विभागका प्रमुख कट्टेलले बताए । यसअघि पनि सुनसरीको एक दम्पत्ति औषधि व्यवस्था विभागमा दर्ता नभएको प्रतिबन्धित औषधिको बिक्री बितरण गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी प्रहरीले प्रतिबन्धित औषधिको कारोबार गरेको आरोपमा धरान – ९ कि ३० वर्षीया आस्मा खातुनलाई पक्राउ गरेको थियो । खातुनले श्रीमान मुन्ना खानसँग मिलेर प्रतिबन्धित औषधिको कारोबार चलाउने गरेका थिए ।
यसरी प्रतिबन्धित औषधिको दुरूपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरूलाई फार्मेसी संचालकहरूले पनि बिक्री बितरण गर्ने गरेका थिए । केही फार्मेसी संचालकहरूले औषधिको अनुचित प्रयोग गरी लागूऔषध प्रयोगकर्तालाई बेच्ने गरेको विभागले जनाएको छ । यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ ।