काँग्रेसको केन्द्रीय महाधिवेशन : मोरङका ९ जना उम्मेदवार बन्ने

विराटनगर । नेपाली काँग्रेसको मंसिर २५ गतेबाट सुरु हुने १४औँ महाधिवेशनमा मोरङबाट ९ जनाले केन्द्रीय नेतृत्वमा आकांक्षा देखाएका छन् ।

अहिलेसम्म केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यमा विराटनगरका ९ नेताहरूले दाबेदारी सार्वजनिक भएको छ । महाधिवेशनमा केन्द्रीय सदस्य रहेका डा.शेखर कोइरालाले सभापतिको दावी गर्दै आएका छन् । सभापति शेरबहादुर देउवा इतर समूहबाट उनी सभापतिको आकांक्षी हुन् । तर, इतर पक्षमा उनकै पक्षमा सहमति भइसकेको छैन ।

सोही समूहबाट केन्द्रीय सदस्य रहेकी सुजाता कोइराला पनि सभापतिका दावेदार छन् । तर, उनले सहमति भए पछि हट्ने बताइसकेकी छन् । मोरङकै महेश आचार्यले पनि उपसभापतिको दाबी गरिरहेका छन् । आचार्यले पार्टीभित्र वैचारिक बहसका लागि आफू उम्मेदवार बन्ने बताएका छन् ।

रक्षामन्त्री रहेका डा.मिनेन्द्र रिजालले महामन्त्रीको दावी पेश गर्दै आएका छन् । संस्थापन इतर समूहका उनले महामन्त्रीमा दाबी गरेपनि धेरै आकांक्षी रहेको कारण उनले महामन्त्रीको उम्मेवदारी पाउने संभावन कम रहेको बताइन्छ ।

संस्थापन पक्षमा रहेकी महिला नेतृ डा.डिला सङ्ग्रौलाले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् । उनी अहिले केन्द्रीय सदस्य छन् । यस्तै संस्थापन पक्षमै रहेका केन्द्रीय सदस्य रहेका अमृत अर्यालले पुनः केन्द्रीय सदस्यमा उठ्ने बताएका छन् । प्रदेश १ को सभापतिको रुपमा चर्चामा आएपनि सभापति कृष्णप्रसाद सिटौला निकट उद्धब थापालाई बनाएपछि अर्याल केन्द्रीय सदस्य नै बन्न लागेका हुन् ।

काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रहेका विराटनगरका हसन अन्सारी पनि केन्द्रीय सदस्यको दाबेदार छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पहिले डा. शेखर कोइराला निकट रहेका उनले अहिले कृष्णप्रसाद सिटौलाको टिमबाट केन्द्रीय सदस्यमा उठ्ने तयारी गरेका हुन् ।

कोइराला टिमबाट प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की पनि केन्द्रीय सदस्यका दावेदार छन् । प्रदेश १ को सभापतिसहित प्रदेशका बहुमत जिल्ला सभापतिमा संस्थापन पक्ष विजयी भइसकेको छ ।

बुधबार, २२ मंसिर, २०७८, बिहानको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर