विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित १४ वर्षीय निश्चल रायको रहस्मय मृत्युको घटनाको सत्यतथ्य सार्वजनिको माग राख्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
प्रहरीले गम्भीरता नदेखाएको भन्दै घटनाको सत्यतथ्य सार्वजानिक माग राख्दै विद्यार्थीहरूले निमुवामा मंगलबार निमुवामा एक घण्टा चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् ।
बुढीगंकाका स्थानिय आवद्ध भएका संघर्ष समितिले यसअघि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । उक्त आन्दोलनको कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । मंसिर २४ गते बुढीगंगामा एक घण्टा चक्का जाम गर्ने पुनः कार्यक्रम रहेको छ ।
पीडित परिवारको मागलाई राज्यले सम्बोधन नगरेपछि मंसिर २७ गते चक्काजामलाई थप बढाएर लैजाने भएको छ । २७ मंसिरमा दुइ घण्टा चक्काजाम, २८ गते तीन घण्टा, पुस १ गते बुढीगंगा र विराटनगरको बजार बन्द र पुस २ गते मोरङ जिल्ला आमहड्ताल गर्ने संघर्ष समितिले सार्वजनिक गरेको छ ।
बुढीगंगाको स्थानीय आवद्ध भएको संघर्ष समितिले उच्चस्तरीय छानविन समिति गठन गरि घटनाको सत्यतथ्य सार्वजनिक र दोषीलाई कारवाही गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, शान्ति सुरक्षा सुव्यवस्थापन गरिनुपर्ने माग छ ।
कात्तिक २२ गते घरनजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चलको २४ गते बिहान सिंघीया खोलामा शव फेला परेको थियो । हराएपछि पटकपटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो ।
बालकको हत्याभएको महिनादिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउनु पर्ने, पोस्माटम रिपोर्ट सार्वजनिक गरिनुपर्ने माग राखेका छन् ।