काँग्रेस केन्द्रीय महाधिवेशनमा झण्डै ५ हजार प्रतिनिधि सहभागी हुने

विराटनगर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा झण्डै ५ हजार अर्थात् ४ हजार ७०० प्रतिनिधि सहभागी हुने भएका छन् ।

प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ ।

हाल देशभर काँग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् ।

काँग्रेसको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरी आवश्यक काम कारबाही प्रारम्भ गरेको छ ।

यसैगरी सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचारप्रसार समिति, काठमाडौँ जिल्लाका पार्टी सभापतिको संयोजक र ललितपुर र भक्तपुर जिल्ला सभापति सदस्य रहने उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति, नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ ।

काठमाडौंमा करिब १० हजार झण्डा राखिने

यसैबीच नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन् । प्रचारको विविध प्रक्रियाअनुसार आज सडकका पोलहरुमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले जानकारी दिए ।

महाधिवेशनका लागि स्वागतद्वार तथा श्रङ्गारको जिम्मेवारी पाएका कांग्रेस काठमाडौँका सचिव गोविन्द पुडासैनी संयोजकत्वको उपसमितिले कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार बनाउन सुरु गरेको छ । यसबाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार बनाइने सचिव पुडासैनीले बताए ।

कांग्रेसले ‘उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ भन्ने प्रचारात्मक नारा पनि तय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

– रातोपाटी

मङ्गलबार, २१ मंसिर, २०७८, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर