विराटनगर । पार्टी विभाजनपछि एक अर्कालाई छेडछाड गरिरहेका बेला एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एमाले पत्तासाफ हुने दाबी गरेका छन् ।
नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर झापा दमकमा आयोजित एक कार्यक्रममा यस्तो दाबी गरेका हुन् । दमकमा आज नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेपालले सम्बोधन गरेका थिए । सो क्रममा उनले गठबन्धनका पाँच दलहरु आउँदो चुनावमा एक भएर गएपछि एमाले पत्तासाफ हुने दाबी गरे ।
‘नाम कमाएपछि अहंकार बन्ने परम्परा छ,’ नेपालले भने, ‘खेलाडीमा त्यस्तो नहोस् । राजनीतिकमा पनि त्यस्तो परम्परा छ । त्यसलाई चिर्न आवश्यक छ । त्यस्तो परम्परा अब नसिकाउनुहोस् । खेल एउटा महत्वपूर्ण पक्ष हो, यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउँछ ।’
वडादेखि केन्द्रसम्म पार्टी र संगठन निर्माणमा जुटेको बताउँदै अध्यक्ष नेपालले आगामी दिनमा जनताको घरघरमा पुगेर कलम चिन्हमा भोट माग्दै स्टीकर अभियान चलाउने बताए । संगठन निर्माणका लागि स्वैच्छिक चन्दा अर्थात स्टीकर अभियान चलाउने पार्टीको योजना रहेको उनले बताए ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेपालमा ठूलाठूला क्रान्ति भए, परिवर्तन भए तर जनताले भने अझै दुःख मात्र पाइरहेको बताए । गरिवका लागि क्रान्ति नआएको उनले ठोकुवा गरे । उनले जनताले दुःख मात्र पाए, कहिलै सुख पाएनन्, त्यसकारण के का लागि क्रान्ति भन्दै प्रश्न गरे ।
कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष घनेन्द्र वस्नेत, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय अध्यक्ष केशवकुमार विष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कराते र बक्सीनका खेलाडीहरु डेमो प्रदर्शन गरेका थिए ।