माओवादी केन्द्र विराटनगर अध्यक्षमा नविन पौडेल र सचिवमा नमिता न्यौपाने चयन

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरसमितिको प्रथम अधिवेशनबाट अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा दिनेश राजवंशी,सावित्रा गौतम र ज्ञानू भट्टराई, सचिवमा नमिता न्यौपाने र सहसचिवमा सारदा मैनाली र कोषाध्यक्षमा मो. प्रवेज आजम निर्वाचित भएका छन् ।

अधिवेशनबाट ९९ सदस्यीय नगर समिति निर्माण भएको छ । उक्त समितिले पदाधिकारी चयन गरेको हो । माओवादीले नगरसम्मेलनमा ४४० जना प्रतिनिधि वडाबाटै छनौट गरेको थियो । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिवेशन गरेको थियो ।

अध्यक्ष पौडेलले अब जनताले माओवादी केन्द्रलाई अवसर दिनुपर्ने बताए । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी राज्यप्रणाली माओवादीको एजेण्डा भएको कारण यसलाई कार्यान्वयन गर्ने र जनहित, मुलुकहितमा प्रयोग गर्नेका लागि पनि माओवादीले विजय हासिल गर्नुपर्नेमा उनको जोड छ ।

पार्टीहरूले नयाँ पुस्तालाई योजना बनाएर नीतिगत रूपमा नेतृत्वमा अवसर दिनुपर्छ भन्ने मान्यता राख्ने पौडेल देशमा विद्यमान कर्मचारी संयन्त्र र त्यहाँ मौलाएको अनियमितता र विकृति विसंगतिको विरुद्धमा युवाहरूले आफूलाई सशक्त बनाउन जरुरी रहेकोमा जोड दिन्छन् ।

‘नेताहरूले जे गरे पनि ताली ठोकेर झोला बोकिरहेमा देश विकास असम्भव छ, अहिले नेकपा र एमाले विभाजनमा युवाहरू पनि दोषी छन्,’ उनले भने, ‘आफ्नो नेताले जे भने पनि जतिसुकै गलत गतिविधि गरेपनि निहीत स्वार्थका लागि त्यसको समर्थन गर्ने र गुटबन्दीमा सहभागी हुने युवाको कारण पनि देश विकासमा बाधा उत्पन्न भएको छ । तसर्थ ठिकलाई ठिक र गलतलाई गलत भन्ने हिम्मत युवाहरूले गरेमा नेतृत्व पनि सचेत हुन्छ ।’

शनिबार, १८ मंसिर, २०७८, दिउँसोको ०२:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर