विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिका कमिटीको पहिलो अधिवेशन आज गर्दैछ । अधिवेशनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्ने कार्यक्रम छ ।
माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिवेशन गरेको थियो । पाँच वर्षअघि महानगरमा १ हजार ८ सय पार्टी सदस्य रहेको माओवादी केन्द्रमा अहिले ३ हजार २ सय संगठित सदस्य कायम भएका छन् । अधिवेशनले महानगरको ९९ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्ष, ३ उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षसहितको कमिटिमा ३५ प्रतिशत महिला, २५ प्रतिशत दलित, २० प्रतिशत युवा र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व हुने व्यवस्था रहेको पार्टीले जनाएको छ । प्रथम अधिवेशनले १४ जना प्रदेश प्रतिनिधि पनि छनोट गर्नेछ ।
अध्यक्षका तीन आकांक्षी
माओवादी केन्द्र विराटनगरको अधिवेशनबाट अध्यक्षमा तीन जनाले आकांक्षा राखेका छन् ।
बाहलवाला माओवादी विराटनगरका संयोजक भोगेन्द्र यादव, सचिव नमिता न्यौपाने र युवा नेता नविन पौडेलले अध्यक्षमा चाहना राखेको बताइएको छ । अध्यक्ष बन्ने धेरै सम्भावना यादवको रहेपनि पौडेल र न्यौपाने नेताहरुसमक्ष आफ्नो पक्षमा लविङ गरिरहेका छन् ।
नेतृत्व चयनको विषयमा सकेसम्म सहमति गर्ने र सहमति नभए लोकतान्त्रिक बिधिबाट नेतृत्व चयन गर्ने सो पार्टीले जनाएको छ । अध्यक्षका आकांक्षी न्यौपाने यसअघिको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको उपमेयरमा पराजित भएकी थिइन् भने मेयरको उम्मेद्वार बनाएका यादवलाई अन्तिम समयमा उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमसँग गठबन्धन गर्दा उम्मेद्वारी फिर्ता लिन लगाइएको थियो । युवा नेता पौडेल भने माओवादी विराटनगरको उदयमान नेताको रुपमा मानिन्छ ।