प्रदेश १  काँग्रेस अधिवेशन

जिल्ला नेतृत्वमा संस्थापनले कोइराला पक्षलाई उछिन्यो

१४ जिल्लामध्ये ७ वटामा देउवा समूह विजयी बनेको भने ६ वटामा रामचन्द्र पौडेल–शेखर कोइराला पक्षका सभापति छानिए

विराटनगर । मोरङ, धनकुटा र सोलुखुम्बुको चुनावी नतिजा सार्वजनिक भइसकेपछि नेपाली काँग्रेसले प्रदेश १ का सबै जिल्ला अधिवेशन टुंग्याएको छ । चुनावी नतिजा अनुसार कोइराला परिवारको बलियो पकड भएको प्रदेशमा यसपटक शेरबहादुर देउवा पक्षले शक्तिशाली उपस्थिति देखाएको छ ।

हालसम्म प्रदेश १ का १४ जिल्लामध्ये ७ वटामा देउवा समूह विजयी बनेको भने ६ वटामा रामचन्द्र पौडेल–शेखर कोइराला पक्षका सभापति छानिएका छन् । एक जिल्ला झापामा सिटौला पक्षका सभापति छानिएका छन् ।

कोइराला परिवारको सबैभन्दा बलियो पकड रहेको मोरङमा सोही पक्षमा उम्मेद्वार डिगबहादुर लिम्बु पार्टी सभापतिमा निर्वाचित भएका छन् । केन्द्रीय सभापतिमा दाबी पेश गरिरहेका नेता डा.शेखर कोइरालाको गृह जिल्ला मोरङमा देउवा र सिटौला पक्ष मिलेर उनलाई चुनौती दिने प्रयास गरेका थिए ।

लिम्बुले संस्थापन पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई हराउँदै दोस्रो कार्यकालका लागि मोरङ सभापति पदमा बाजी मारेका हुन् । मंगलबार राति अबेर सार्वजनिक भएको मत परिणाम अनुसार लिम्बुले एक हजार नौ सय छ मत प्राप्त गर्दा गच्छदारले एक हजार चार सय २२ मत पाएका छन् । आइतबार भएको निर्वाचनको पहिलो चरणमा तीनमध्ये कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ कांग्रेस सभापतिका लागि मंगलबार पुनः मतदान भएको थियो । कोइराला पक्षका लिम्बु, संस्थापनका गच्छदार र सिटौला पक्षबाट यदु विष्टबीचको प्रतिस्पर्धामा लिम्बू र गच्छदार मात्रै दोस्रो चरणमा प्रतिस्पर्धामा गएका थिए ।

पहिलो चरणको निर्वाचनमा लिम्बुले एक हजार पाँचसय ४४ मत पाएका थिए । गच्छदारले एक हजार ए सय ६६ र यदुकुमार विष्टले पाँच सय ६३ मत पाएका थिए । संस्थापन पक्षका उम्मेद्वारलाई कृष्णप्रसाद सिटौला पक्षले सघाउने घोषणा गरेपछि मोरङमा आफू बलियो बनेको प्रचार देउवा पक्षले गरेको थियो । कोइरालालाई जिल्लामै कमजोर बनाउने लक्ष्यसहित देउवा–सिटौला गठबन्धन बने पनि उनीहरू सफल हुन सकेनन् । सभापतिमा निर्वाचित लिम्बुलाई नेता महेश आचार्य र रक्षामन्त्री मिनेन्द्र रिजालको पनि समर्थन थियो ।

मोरङमा असफलता भोगेको संस्थापन पक्षले प्रदेश १ को धनकुटा र सोलुखुम्बुमा भने सफलता पाएको छ । धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन् । बुधबार बिहान सार्वजनिक मतपरिणाम अनुसार राईले ५०४ मत प्राप्त गर्दा फागोले ४७० मत मात्रै पाए । उपसभापतिमा सुनिल डंगोलले ४६६ र निर्मल ओझा ४३० मतसहित विजयी भएका छन् । डंगोल देउवा पक्षका हुन् भने ओझा पौडेल पक्षीय नेता हुन् ।

सचिवमा देउवा पक्षका विजय सन्तोषी राई ६२६ र जयन्द्र घिसिङ ४३९ मत प्राप्त गरी विजयी भए । सहसचिवमा देउवा पक्षका रोशन श्रेष्ठले ५१८ र गिरिजा दाहालले ४६६ मत प्राप्त गरेर विजयी भएका छन् ।

काँग्रेस सोलुखुम्बुको सभापतिमा पार्टी संस्थापन पक्षका नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनबाट वर्तमान जिल्ला सभापति विनोद बस्नेतलाई १ सय ४२ मतान्तरले पराजित गर्दै शेर्पा सभापतिमा निर्वाचित भएका हुन् । ८ सय ९७ मत खसेकोमा सोलुदूधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका शेर्पाले ५ सय १३ मत ल्याउँदा बस्नेतले ३७१ मत पाएका छन् । पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन भएको हो ।

पहिलो चरणको सभापतिका उम्मेदवार रामबहादुर बस्नेतले दोस्रो चरणमा शेर्पालाई समर्थन गरेका थिए । सभापतिमा निर्वाचित शेर्पालाई पूर्वपार्टी सभापति आङ्गेलु शेर्पाको समर्थन रहेको थियो भने निर्वाचनमा पराजित बस्नेतलाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन रहेको थियो ।

प्रदेशका १४ जिल्ला मध्ये देउवा (संस्थापन) पक्षबाट जिल्ला सभापति बन्नेहरुमा गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, रूपनारायण जबेगु पाँचथर, तेजेन्द्र खनाल ओखलढुङ्गा, डम्बर खड्का इलाम, हिमाल कार्की उदयपुर, नाम्गेल जाङ्बु शेर्पा सोलुखुम्बु र दिनेश राई धनकुटा छन् ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला पक्षबाट जिल्ला सभापति निर्वाचित हुनेहरुमा दीपक खड्का संखुवासभा, अर्जुनबहादुर तुम्बाहाम्फे तेह्रथुम, विष्णुकुमार राई खोटाङ, विनोद बान्तवा भोजपुर , केदार भण्डारी सुनसरी र डिगबहादुर लिम्बु मोरङ छन् । त्यसैगरी झापामा कृष्णप्रसाद सिटौला निकट देउमान थेवे जिल्ला सभापतिमा निर्वाचित भएका छन् । केन्द्रमा सिटौला–देउवा गठजोड बनेका कारण झापा सभापतिलाई पनि देउवा पक्षमै गणना गरिने काँग्रेस नेताहरु बताउँछन् । यसले जिल्ला नेतृत्व हात पार्नमा कोइराला पौडेल समूहलाई देउवाले प्रदेश १ मा उछिनेका छन् ।

बिहिबार, १६ मंसिर, २०७८, बिहानको १०:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर