विराटनगरमा पहिलो अधिवेशन गर्दै माओवादी केन्द्र, अर्थमन्त्री शर्माले उद्घाटन गर्ने

विराटनगर । स्थानीय कमिटीहरुको धमाधम अधिवेशन गरिरहेको नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिका कमिटीको पहिलो अधिवेशन मङ्सिर १७ गते गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यतालिकाअनुसार विराटनगरको अधिवेशन मङ्सिर ११ गते हुनुपर्ने थियो । तर, मङ्गलबार पत्रकार सम्मेलन गर्दै नगर कमिटीले मङ्सिर १७ गते नगरअधिवेशन आयोजना गर्ने जानकारी दिएको छ ।

अधिवेशनमा अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित हुने महानगर कमिटीले जनाएको छ । मङ्सिर १२ गतेसम्म वडा अधिवेशन सकेर मङ्सिर १७ गते नगर अधिवेशन गर्ने निर्णय भएको माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले जानकारी दिइन् । अधिवेशनमा चार सय प्रतिनिधि सहभागी हुने माओवादी केन्द्र विराटनगर अध्यक्ष भोगेन्द्र यादवले बताए ।

पाँच वर्षअघि महानगरमा एक हजार आठ सय पार्टी सदस्य रहेको माओवादी केन्द्रले हाल तीन हजार दुई सय संगठित सदस्य बनाएको छ ।
अधिवेशनले नयाँ नेतृत्व छनोट गर्नेछ । महानगरको कमिटी ९९ सदस्यीय हुनेछ । जसमा सात जना पदाधिकारी समिति हुनेछ । समितिमा ३५ प्रतिशत महिला, २५ प्रतिशत दलित, २० प्रतिशत युवा र पाँच प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व गर्नुपर्ने विधानमा उल्लेख छ ।

प्रथम अधिवेशनले १४ जना प्रदेश प्रतिनिधि पनि छनोट गर्नेछ । ‘हामी सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नेछौं,’ अध्यक्ष भोगेन्द्र यादवले भने ‘सहमति सम्भव नभए लोकतान्त्रिक रुपमा चुनावमामार्फत नेतृत्व चयन गर्नेछौं ।’

बुधबार, १५ मंसिर, २०७८, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर