भीम आचार्यलाई दुखद् संयोगः मुख्यमन्त्री भएकै दिन भाई गुमाए, महाधिवेशनको चटारोमा कोरोना संक्रमित भए

विराटनगर । सहकर्मी नेताहरू पार्टीको दसौं महाधिवेशनको दौरानमा नेतृत्व दाबी गर्दै दौडधुप गरिरहेका बेला नेकपा एमालेका सचिव भीम आचार्य कोरोना संक्रमित बनेर आइसोलेसनमा रहन बाध्य भएका छन्।

नवौं महाधिवेशनमा सचिव पदमा निर्वाचित आचार्य यसपटक पनि पार्टीको पदाधिकारीमा दाबी गरिरहेका छन्। तर, नेतृत्वका लागि छलफल र दौडधुपमा लाग्नुपर्ने बेलामा आइसोलेसनमा रहँदा उनी फोनबाटै छलफल गर्न बाध्य भएका छन्।

कोरोना संक्रमण भएपछि शुक्रबारको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन नपाएका प्रदेश १ का पूर्व मुख्यमन्त्री आचार्य अहिले सौराहाको होटल सेभेन स्टारमै आइसोलेसनमा छन्।

‘काठमाडौंमा छँदै हल्का ज्वरो आएको थियो,’ आचार्यका स्वकीय सचिव अनिल राजधामीले भने, ‘चितवन आएर ९ गते स्वाब जाँच गर्दा रिपोर्ट पोजिटिभ आयो। अहिले उहाँ होटलमै आइसोलेसनमा हुनुहुन्छ।’

पार्टीका स्थायी कमिटी सदस्यहरूका लागि आवासको व्यवस्थापन गरिएको होटल सेभेन स्टारमा रहेका उनलाई महाधिवेशनमा खटिएको चिकित्सक टोलीको सिफारिसमा एन्टिबायोटिक सुरू गरिएको स्वकिय सचिव राजधामीले जानकारी दिए।

‘अहिले ज्वरो घटेको छ, एन्टिबायोटिक सुरू गरिएको छ,’ उनले भने ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य नै छ।’

पार्टी पदाधिकारी कम्तीमा सचिव वा सोभन्दा माथि नै जान रहर गरेका आचार्यले खुला रूपमा अहिलेसम्म उम्मेद्वारी घोषणा गरेका भने छैनन्। नवौं महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट सचिवमा निर्वाचित उनले १० बुँदे सहमतिको बेला नेपालको साथ त्यागेर एमालेमै रहने निर्णय गरेका थिए।

एमाले विभाजनताका उनलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन अध्यक्ष केपी ओली राजी भएका थिए। आफूलाई मुख्यमन्त्री बनाए प्रदेश १ संसद्मा पार्टी विभाजन रोक्ने वाचा गरेर आचार्य भदौ १० मा प्रदेश १ को मुख्यमन्त्री बनेका थिए। शेरधन राईलाई राजीनामा दिन लगाएर मुख्यमन्त्री बनेकै दिन उनले भ्रातृशोक व्यहोर्नु परेको थियो। त्यसदिन सपथ लगत्तै पदभार ग्रहण गरेर उनी भाईको अन्त्येष्टीमा सहभागी भएका थिए।

ओलीलाई बहुमत पुर्‍याउने वाचा गरेर मुख्यमन्त्री बनेका उनले पुग्दो संख्या जोगाउन सकेनन्। एमालेका १० जना प्रदेश सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेपछि उनी अल्पमतमा परेका थिए। तर, ६८ दिनसम्म विश्वासको मत नलिई उनले प्रदेश सरकार चलाएका थिए। ६८ दिनपछि उनले राजीनामा दिएका थिए।

१० बुँदे सहमति गरेर एमालेमै रहेका आचार्य निकट स्रोतका अनुसार उनी यसपटक कम्तीमा सचिवमै दोहोरिने रहरमा छन्।

‘सकेसम्म उपाध्यक्ष वा उपमहासचिवमा जाने उहाँको कुरा थियो,’ उनी निकट एक नेताले भने ‘नभए पनि सचिवमा दोहोरिने भन्नेछ।’

छलफल र दौडधुप गर्ने मुख्य समयमै कोरोना लागेर आइसोलेट भएपछि उनले भने जसरी छलफल गर्न नपाएको ती नेताले बताए।

शनिबार, ११ मंसिर, २०७८, दिउँसोको ०२:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर