विराटनगर । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत मोरङका पाँचवटा निर्वाचन क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधि चयन गर्न मतदान भएको छ ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा मतदानस्थलको विवादका कारण मंगलबार मात्र मनोनयन भई ढिलो गरी मतदान शुरु भयो । नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले दिएको जानकारीअनुसार सुन्दरहरैंचाको बासँबारीमा मतदानस्थल राख्ने तय भएपछि विवाद भएको थियो । पछि मतदानस्थल बुढीगंगा गाउँपालिका वडा नम्बर ३ स्थित जनप्रिय माविमा सारिएपछि विवाद मिलेको सचिव कोइरालाले बताए ।
मोरङमा कांग्रेस केन्द्रीय नेताहरुको अधिक प्रभाव रहेका कारण महाधिवेशन प्रतिनिधि र संघीय निर्वाचन क्षेत्रका सभापतिसहित पदाधिकारीको चुनावलाई महत्वसाथ हेरिएको छ । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, अमृत अर्यालसहितका नेता चुनावी अभियानमा सक्रिय देखिएका छन् ।
कांग्रेस जिल्ला सचिव कोइरालाका अनुसार मतदान सकिए लगत्तै मतगणना शुरु हुने र राति अबेरसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम प्राप्त हुने अपेक्षा रहेको छ । कोइराललो भने,“कतिपय क्षेत्रमा सर्वसम्मतको प्रयास पनि भएका हुन । १ र ५ नम्बरमा सर्वसम्मत सभापति चयन हुनुभएको छ ।”
मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा शंकर राई निर्विरोध क्षेत्रीय सभापतिमा चयन भएका छन् । उनी लेटाङ नगरपालिकाका मेयर हुन । यसैगरी क्षेत्र नम्बर ५ जिवछ गच्छदार क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनीसहित महाधिवेशन प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको तर यसको सबै विवरण प्राप्त हुन बाँकी रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट १२६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । क्षेत्रीय सभापतिसहितका पदाधिकारी र महाधिवेशन प्रतिनिधि चयन सबै विवरण आधिकारिक रुपमा प्राप्त हुन बाँकी रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि र पदाधिकारी चयन गर्न ३५ सय क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दैछन् ।
चुनावी प्रक्रिया शुरु भएपछि कांग्रेस उपसभापति विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । मधेशी महिला कोटाबाट पुनम सिंह पनि निर्विरोध भएकी छन् । डा. शेखर कोइरालालाई नेता गच्छदारले सुभाषलाई निर्विरोध निर्वाचित गराई दिन आग्रह गरेका थिए । त्यसपछि कोइरालाले पहल लिएर उनलाई निर्विरोध निर्वाचित गराएका हुन् ।
कार्यतालिका अनुसार सोमबार नै मतदानको प्रक्रिया शुरु गर्नुपर्ने थियो । तर आपसी विवाद र सहमतिको प्रयासमा भएको विलम्बका कारण चुनावी प्रक्रिया ढिलो हुन पुगेको सचिव कोइरालाले जानकारी दिए । यो क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि र क्षेत्रीय पदाधिकारी चयन हुने छन् ।