विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन ।
आज साढे १२ बजे सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले आफ्नो बहुमत परीक्षण गर्नेछन ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।
सत्ता गठबन्धनका दलहरुले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सासदलाई ह्विप जारी गरेका छन । सोमबार राती अबेरसम्म सत्ता गठबन्धनको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको हो ।
विश्वासको मत लिनु अघि प्रदेशको सत्तारूढ पाँच दलीय गठबन्धनले सोमबार कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ बनाएको थियो । सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठबन्धनले कार्यदल पनि गठन गरेको छ ।
मुख्यमन्त्रीसहितका सत्ता गठबन्धनका नेताहरुले प्रदेशमा मन्त्रालय फुटाएर भागबन्डा गर्ने सहमति गरेका छन् ।
।
प्रदेशको पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेश सभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।
मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । त्यसैले मुख्यमन्त्रीले सजिलै विश्वासको मत पाउने अवस्था छ ।

