कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा सम्पन्न भएको प्रथम अध्यक्ष कप १ नं. प्रदेशस्तरीय तेक्वाण्डो प्रतियोगितामा आयोजक जिल्ला मोरङले प्रथम पुरस्कार हात पारेको छ । ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दैँ आयोजकले प्रथम स्थान हासिल गरेको आयोजक कमिटीले बताएको छ ।
दोश्रो पुरस्कार सुनसरीले ८ स्वर्ण, २ रजत र ३ कास्यका साथ हासिल गर्दा तेश्रो उपाधी ७ स्वर्ण, ९ रजत र ६ कास्य पदक सहित झापाले जित्यो ।
विजेतालाई कानेपोखरी गाउँ अध्यक्ष ताराबहादुर काफ्ले,आइटिएफ प्रदेश अध्यक्ष प्रविन कुमार कार्की, आइटिएफ तेक्वान्डो केन्द्रिय अध्यक्ष अन्जन धमलालगायतले प्रमाणपत्र, मेडल र ट्रफीले सम्मान गरेका थिए । प्रथम पुरस्कार र दोश्रो पुरस्कारको प्रायोजन क्रमशः कानेपोखरी ६ मा रहेको माउन्ट हर्मोन चिल्ड्रेन ऐकेडेमी र वडा नं. ६ मै अवस्थित उज्ज्वल भविष्य बाल क्लबले गरेका हुन भने तेश्रो पुरस्कारको व्यवस्थापन आयोजक कानेपोखरी आइटिएफले गरेको हो ।
यस प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फबाट आयोजक मोरङकी इन्दिरा थापा घोषित हुँदा पुरुषतर्फबाट सुनसरीका निकेश कटुवाल छानिए । अनुशासीत टिमको उपाधी पाँचथर जिल्लाले हात पार्यो । यी उपाधीहरूको प्रायोजन कानेपोखरी ६ रमाइलो फ्लेक्सका प्रोपाइटर सागर धिमालले गरेका हुन् ।
शुक्रबार र शनिबार सञ्चालन भएको दुई दिवसीय प्रथम अध्यक्ष कप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा प्रदेश नं. १ का ओखलढुंगा र सोलुखुम्बु बाहेक १२ जिल्लाका २५० जना खेलाडीहरूले सहभागीता जनाएका थिए । जसमा ९६ जना महिला खेलाडी थिए ।
प्रतियोगीतामा पुरुषतर्फ २० केजीदेखि ८० केजी माथि तौलसम्म र महिलातर्फ २० केजीदेखि ७० केजी माथि तौलसम्मका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । पुरस्कार वितरणसँगै समापन गरिएको प्रतियोगितालाई सफल बनाउन अहोरात्र खट्ने व्यक्तिहरू, सहयोगदाता, प्रायोजक, खेल पदाधिकारी, अतिथिलगायतलाई कदर पत्रका साथ सम्मान प्रकटसमेत गरिएको थियो ।
समापन कार्यक्रममा पालिका अध्यक्ष ताराबहादुर काफ्लेले शुभकामना व्यक्त गर्दै तेक्वाण्डो खेलले मानसिक, शारीरिक, बौद्धिक एवं सामाजिक रुपमा पनि सबल बनाउने बताए । प्रतियोगितालाई कानेपोखरी गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने प्रदेश नं. १ आइटीएफ तेक्वाण्डो संघको तत्वधानमा कानेपोखरी आइटीएफ तेक्वाण्डो डोजाङ्गले आयोजना गरेको हो। खेल कानेपोखरी ६ स्थित जनसेवा माविको खेलमैदानमा सम्पन्न भएको हो ।