विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ हात्तीमुडा लिची बगैंचा टोलका १४ वर्षीय निश्चल रायको अपहरणपछि यातना दिएर हत्या भएको भन्दै घटनाको अनुसन्धान गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन माग राखेका छन् ।
सोमबार अर्थात कार्तिक २२ गते घरदेखि पाँच सय मिटर दक्षिण लिची बगैंचादेखि हराएको निश्चलको शव तीन दिनपछि बुधबार विहान घरदेखि एक किलोमिटर पूर्वमा रहेको सिंघीया खोलामा मृत अवस्थामा शव भेटिएको थियो ।
शवको प्रकृति हेर्दा छोराको शरिर भरी चोटपटक लागेकोले अपहरणपछि यातना दिएर हत्या गरेको हुनसक्ने भन्दै मृतकका परिवारले घटनाको गहन अनुसन्धान गरि दोषिलाई सार्वजानिक गरि कारवाहीको दायारमा ल्याउनुपर्ने माग राखेका हुन् ।
मृतकका बावु उपेन्द्र रायले छारोको तिग्रामा डोरीले बाधेको डाम, घाँटीमा जुत्ताले कुटेको डाम, ओढ र लामा पनि चोटपटक र नाइटोमा इन्जेक्सन लगाएकोले छोराको भबितब्य दुर्घटना नभए सुनयोजित तरिकाले हत्या भएको दाबी गरेका छन् । ‘छोराको हत्या भएको हो । तर, अहिले पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको पार्न खोजिएको छ,’ उनले भने, ‘घटनाको गहन अनुसन्धान हुनुपर्दछ र सत्यतथ्य बाहिर ल्याउनुपर्ने हामीले बारम्बार भन्दै आएका छौं ।’ यद्यपी घटना भएको यतिका दिन भइसक्दा पनि प्रहरीले कुनै प्रगति पीडित परिवालाई दिन नसकेको उनले बताए ।
मृतकका बावु उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर संगठनका नेता हुन् । राजनीतिक प्रतिसोध साँध्न र पारिवारिक रिसिविको कारणले पनि सन्तानको हत्या गरेको हुनसक्ने भएकोले प्रहरी प्रशासनले सबै कोणले अनुसन्धान गरिनुपर्ने उनले बताए । ‘काहीँ हत्यारो पत्ता लाग्दैन कि भन्ने आशङ्का छ, हत्यारो जो छ तत्काल सार्वजनिक गर्नुपर्यो,’ उनी भन्छन्, ‘केही आफन्त पर्नेसँग जग्गा जमिनको सामान्य विवाद थियो, त्यही कारणले नै मेरो छोराको हत्या भएको हो भन्ने त लाग्दैन, तर अनुसन्धान त्यतातिर पनि सोझ्याउनु आवश्यक छ ।’ अल्पायुमै छोरोका निर्मम हत्या भएकोमा उनी मर्माहत छन् ।
‘छोराको हत्या भएपछि अहिले गाउँमा सन्त्रास छाएको छ,’ उनले भने, ‘यत्रो घटना घटदा पनि प्रहरी अहिलेसम्म गाउँमा आएर अनुसन्धान सुरू गरेको छैन ।’ यस्तो जघन्य अपराध हँुदा पनि प्रहरीले घटना गम्भीरतापूर्वक लिएर अनुसन्धान नगरेको मृतक परिवारको गुनासो रहेको छ ।
छोरो हराएको विषयमा पनि प्रहरीले जानकारी गराउँदा पनि समयै खोजविनमा सहयोग नगर्दा अहिले छोराको शव देख्नुपरेको उनको भनाइ छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले यस घटनामा प्रहरीले गम्भीर ढंगले प्रहरीले अनुसन्धान गर्दै आएको बताए । ‘अहिले घटनास्थल र गाउँमा सादा पोशाकका प्रहरी पनि परिचाल गरि सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘हामीले गम्भीर ढंगले नै अनुसन्धानमा जुटेका छौं । घटनालाई अझै हामीले सुक्ष्म रुपले हेरिरहेका छौं ।’ मृतकको पोस्माटर्मको रिपोर्ट पनि आउन बाँकी रहेकोले रिपोर्ट आएपछि धेरै विषय खुल्ने प्रहरीले जनाएको छ । कोशी अस्पतालबाट पोस्मार्टम रिपोर्ट आउन एक हप्ता लाग्ने बुझिएको छ ।

