विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आजसाँझ संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा अन्य पार्टीबाट आउनेहरुको लहर देखेर कतिपय मानिस आत्तीएको बताए । ‘देशैभरीबाट नेकपा समाजवादीमा प्रवेश गर्नेको लहर चलेको छ,’ नेपालले भने, ‘पार्टी प्रवेशको लहर देखेर अरु आत्तीएका छन् ।’
अध्यक्ष नेपालले आफू अरुको आलोचना नगर्ने बताए । ‘कसले के भन्यो त्यतातिर म जान्न,’ उनले भने । एमालेका नेता योगेश भट्टराईले तपाईको पार्टीलाई अवैधानिक छ भनेको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा नेता नेपालले ‘मलाई थाहा छैन’ भन्ने जवाफ दिए ।
अहिले अदालतमा देखिएको विवादको विषयलाई समाधान गर्न गठबन्धन दलहरुको तर्फबाट प्रधानमन्त्री शेरबहादृुर देउवा आफैं लागिरहेको बताउँदै नेता नेपालले आफूहरुले पनि अदालतको विषय त्यहीबाट समाधान होस् भन्ने चाहना राखेको बताए । ‘अदालतमा देखिएको विवाद यसरी हेरिरहनु हुँदैन,’ नेता नेपालले भने, ‘सहमतिमा ल्याउनका लागि हाम्रोतर्फबाट प्रधानमन्त्रीले पहल गरिरहनु भएको होला ।’
एमाले अध्यक्ष ओलीले सबै न्यायाधिशले राजीनामा दिनुपर्छ भनेको तर्फ इंगित गर्दै नेपालले ओलीका लागि सबै पत्रकार, वकिल, बुद्धिजीवि, न्यायाधिशहरुले राजीनामा दिनुपर्ने अवस्था नहुने बताए । ‘उहाँको विरोधमा लाग्नेजति सबैको त उहाँले राजीनामा मागिहाल्नुहुन्छ नि कुन ठूलो कुरा भयो र ?,’ नेपालले भने ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।