लोड हुँदैछ...

मेनु

अभिषेक गिरीका विरोधी थापाको ‘रहस्यमय मृत्यु’, यातनाका कारण मृत्यु भएको आशङ्का

अभिषेक गिरीका विरोधी थापाको ‘रहस्यमय मृत्यु’, यातनाका कारण मृत्यु भएको आशङ्का

विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो । थापा कात्तिक १६ मा गुन्डानाइके अभिषेक गिरीलाई काठमाडौंबाट मोरङ ल्याउँदा विरोधमा उत्रिएका कैदीमध्ये एक हुन् ।

मङगलबार कारागारभित्र गिरीकै योजनामा झडप भएको थियो । झडपमा छ जना घाइते भएका थिए । झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित १४ कैदी–बन्दीको सरुवा गरेको थियो ।

सरुवामा घाइते छ जना पनि परेका थिए तर थापाको सरुवा भएको थिएन । चौकीदारको सरुवालगत्तै कारागार प्रशासनले गिरीका सहयोगी कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो ।

कार्तिक झडपमा संलग्न थिए । कारागार प्रशासनले कामतलाई चौकीदारको जिम्मेवारी दिएको दुई दिनपछि थापाको मृत्यु भएको हो । थापाको मृत्यु शङ्कास्पद भएको कारागार स्रोत बताउँछ ।

‘अभिषेक गिरीको विपक्षमा रहेकाहरूलाई कार्तिकले छानी–छानी यातना दिइरहेका छन्,’ कारागार स्रोतले भन्यो, ‘थापालाई पनि दुई दिनदेखि यातना दिएका थिए ।’

जिल्ला कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार जबर्जस्तीकरणी मुद्दामा छ वर्ष कैद भुक्तान गरिसकेका थापाको स्वास्थ्यमा यसअघि कुनै समस्या आएको थिएन । राति एक्कासि पेट दुख्ने र सास फेर्न गाह्रो भएको बताएपछि कोसी अस्पताल लगिएको उनले बताए ।

अस्पतालका चिकित्सकले अस्पताल पुगेलगत्तै थापालाई मृत घोषित गरेका थिए । मोरङको इटहराका थापालाई १० वर्ष कैद सजाय भएको थियो ।

– कोशीअनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।