छठको सुरु दिनदेखि नै राय परिवारमा ‘छटपटी’ (भिडियो)

बिहीबार सबैले उदाउँदो सूर्यलाई स्वागत गर्दै गर्दा राय परिवार भने एउटा भविश्यलाई तिलाञ्जली दिनेछन्

विराटनगर । सोमबार अर्थात् कार्तिक २२ गते ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक विधिबाट छठ पर्व सुरु भयो । तराई मधेशमा उल्लासमय तरिकाले मनाइने छठ पर्व भित्रिँदै गर्दा मोरङको बुढीगंगा गाउँपालिका ५ हात्तीमुडा लिची बगैंचा टोलको राय परिवारमा भने सोही दिनदेखि सन्नाटा छायो ।

२२ गते सोमबार बिहानै बुढीगंगा गाउँपालिका ५ हात्तीमुडा लिची बगैंचा टोलका उपेन्द्र राय पार्टी कार्यकर्ताको घरमा मरिमराउ भयो पुगेर आउँछु है भन्दै घरबाट हिंडे । दिउँसो २ बजेतिर आउँदा घरमा कोही देखेनन् । घरमा राखिदिएको खाना खाएर आराम गरिरहेको बेला रायको परिवार (श्रीमती) घरमा आइन् । ‘खै छोरा छोरी, छैनन् त ?’ त्यसपछि सोधि खोजी भयो ।

१४ वर्षीय छोरा निश्चल राय हराएको निश्चित गर्दा करिब ३ बजेको थियो । ‘छरछिमेकीका केटाकेटी आए । निश्चल छैन भनेपछि सबैले खोज्न थाल्यौं,’ मृतक बालक रायका बुबा उपेन्द्रले भने, ‘गाउँमा कतै भेटिएन । त्यसपछि पुलिसलाई जानकारी गरायौं । साँझ ९ बजेतिर निमुवा प्रहरीमा जानकारी गरायौं । राती १२ बजेसम्म उसका प्रत्येक साथीको घरमा पुग्यौं । तर भेटिएन ।’

छठ पर्व सुरुभएको भोलिपल्ट व्रतालुहरुले मंगलबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खाने तयारी भइरहेको थियो । तर राय परिवार भने आफन्त छरछिमेक, प्रशासन समक्ष हार गुहार गरिरहेको थियो । ‘भोलीपल्ट बिहानै गएर हामीले निमुवा प्रहरी चौकीमा लिखित उजुरी गर्यौं,’ उपेन्द्रले भने, ‘तर, उजुरी गरेपछि पनि प्रहरीले कुनै प्रकारको अनुसन्धान गरेको देखिएन, उजुरी दिएपछि प्रहरी आउने, सर्च गर्ने, अनुसन्धानका विभिन्न क्लुहरु हामीले दिएका थियौं, त्यसतर्फ अनुसन्धान केन्द्रीत गर्ने केही भएन ।’

मंगलबार दिनभरजसो सामाजिक सञ्जालमा निश्चल हराएको सूचना छ्याप्छ्याप्ती भयो । उपेन्द्र राय माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर संगठनका नेता भएको कारण उनको छोरा हराएको विषयमा सबै संवेदनशील भए । ‘स्थानीय प्रहरीले अनुसन्धान फितलो गरेको हो कि जस्तो लागेर माथिल्लो निकायमा पनि जानकारी दियौं,’ उनले भने । खोजी तीब्र हुँदा पनि मंगलबार बालकको विषयमा पत्ता लागेन ।

छठ पर्वकै बुधबार व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्ने गर्छन् । साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने ब्रतालुको तयारी थियो । राय परिवार भने छोराकै खोजीमा थिए । तर, बुधबार (आज) बिहानै घरदेखि पूर्वपट्टीको सिंघीया खोलामा बालक मृत अवस्थामा फेला परे । हुर्किसकेको एउटै छोरोको यो अवस्थाले राय दम्पत्ती विक्षिप्त बनेका छन् । परिवार, छरछिमेकमा पनि रुवाबासी चलेको छ ।

अब मृतकका बुबा उपेन्द्रको प्रहरी प्रशासनसँगको माग पनि फेरिएको छ । ‘कहिँ हत्यारो पत्ता लाग्दैन कि भन्ने आशङ्का छ, हत्यारो जो छ तत्काल सार्वजनिक गर्नुपर्यो,’ उनी भन्छन्, ‘केही आफन्त पर्नेसँग जग्गा जमिनको सामान्य विवाद थियो, त्यही कारणले नै मेरो छोराको हत्या भएको हो भन्ने त लाग्दैन, तर अनुसन्धान त्यतातिर पनि सोझ्याउनु आवश्यक छ ।’ अल्पायुमै छोरोका निर्मम हत्या भएकोमा उनी मर्माहत छन् ।

सबैले छठ पर्वको उपलक्ष्यमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै गर्दा राय परिवारले आफ्ना बालकको सद्गद कार्यक्रम पनि बिहीबार बिहानलाई सारेका छन् । बिहीबार सबैले उदाउँदो सूर्यलाई अघ्र्य दिँदै गर्दा राय परिवार भने एउटा भविश्यलाई बाइबाइ गर्दैहुनेछन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले आफूहरुले बालब बेपत्ता भएको जानकारी पाएलगत्तै गम्भीर ढंगले अनुसन्धान गरेको बताए । ‘हामीले पर्याप्त अनुसन्धान गरेका थियौं, गम्भीर ढंगले नै अनुसन्धान गरेका हौं,’ डिएसपी श्रेष्ठले भने, ‘घटनालाई अझै हामीले सुक्ष्म रुपले हेरिरहेका छौं, अनुसन्धान गरिरहेका छौं, दोषिलाई कानूनको दायरामा ल्याउँछौं, घटना पनि हत्या भएकै हो कि जस्तो देखिन्छ ।’

तीन दिनदेखि हराएको निश्चलको शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघीया खोला छेउमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बालकको शव कपडा खोलेको अवस्थामा फेला परेको छ । बालक मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

बुधबार, २४ कार्तिक, २०७८, साँझको ०६:५६ बजे

प्रतिक्रिया

  1. हत्यारालाई कडा भन्दा कडा सजाय होस् भरसक फाँसी नै होस् सरकार मान्छे मार्न पाईदैन l ✊✊✊

प्रतिक्रिया:

सम्बन्धित खवर