विराटनगर । मोरङ रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ ।
बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् । आज दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटु कुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवी हराई बेपत्ता भएका थिए ।
घटनालगत्तै गएको प्रहरी टोलीले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेको थियो । चेकजाँच गर्दा उनको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए । वेपत्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

