पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगरमा अलपत्र अवस्थामा फेला परेका एक बालकलाई उद्धार गरी बालबालिका खोजतलास केन्द्र विराटनगरमा पठाएको छ ।
स्थानीय समाजसेवी किसान राईसहितका युवाले पथरी बजार क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका १० वर्षीय बालकलाई नगरपालिका कार्यालयमा सम्पर्क गराएका थिए । त्यसपछि उपप्रमुख यमुना विष्ट बाँस्तोलाको अगुवाईमा बालकलाई आज बालबालिका खोजतलास केन्द्र विराटनगरमा पठाइएको छ ।
झापाको विर्तामोड घर बताउने बालकले आफ्ना बुबाले विष सेवन गरेर आत्महत्या गरेको र आमासमेत नभएपछि गाडी चढेर आउँदा पथरी आइपुगेको बताएका छन् । पथरी क्षेत्रमा बालकका कोहि आफन्त खोजी गर्दा पत्ता नलागेपछि नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलसहितका कर्मचारीले बालकलाई बालबालिका खोजतलास केन्द्रमा पुर्याएका हुन् । यसअघि पनि उपप्रमुखको पहलमा बेसहरा बनेका बालबालिका र सडकापेक्षी मानवहरुको उद्धार गरी संरक्षण गृहमा पठाउने काम भएको थियो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।