विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एमाले सरकार ढालेर मन्त्रीहरुकाहरुले जमानत जोगाउन नसक्ने बताएका छन् ।

नेकपा एमाले मोरङले विराटनगरमा आज आयोजना गरेको चाडपर्व लक्षित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार ढालेर, संघीय सरकार ढाल्ने र एमाले छोडेर मन्त्री हुनेहरुले जमानत जोगाउन नसक्ने बताए ।

‘एमाले सरकार ढालेर खुसी भएका छन् । १ नम्बर प्रदेशमा पनि भर्खरै सरकार ढालेका छन् । सिट धेरै भएर होइन, जनमत धेरै आएर पनि होइन, अहिले एमालेको सिटसंख्याको आधा सिट पनि कुनै दलको छैन,’ ओलीले भने, ‘एमाले छोडेर मन्त्री भएकाहरुले फेरि आउँदो चुनावमा जमानत जोगाएर देखाउन् त ।’

झण्डै एक घण्टा बोलेका ओली अधिकांश समय अदालतको विवाद, वर्तमान सरकार, गठबन्धन दलहरु तथा माओवादी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालमाथिको आलोचनामै केन्द्रीत भएका थिए । उनले बिग्रीएकाहरुले पार्टी छोडेर गएको बताए । ‘माधव नेपाल गए केही फरक परेको छ ? छैन,’ प्रश्न र जवाफ दिँदै ओलीले भने, ‘पार्टीमा बिग्रिएकाहरु गए, त्यसले केही फरक पार्दैन ।’

वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने भन्दै चिठी लेखेको भन्ने र प्रचण्डले पत्र पठाएको त हो पास गर्ने भनेर होइन भनेर भनेको भन्दै गठबन्धन सरकारको कुनै उद्देश्य नरहेको दाबी गरे । आफूले चाहने हो भने एक हप्तामै सरकार ढल्ने दाबी गर्दै ओलीले आगामी १३ महिनामा निर्वाचन हुने भएको कारण त्यता तर्फ आफू नलाग्ने बताए । एमालेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा मोरङका एमाले कार्यकर्ताको उल्लेख्य सहभागीता थियो ।