विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापा बादल र प्रभु साहहरूलाई बाेकेर माओवादी माथि आक्रमण गरिरहेकाेप्रति माओवादी नेताहरूले कडा टिप्पणी गरेका छन् ।
माओवादीका केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री ईन्द्रबहादुर आङ्बाेले एमालेले वैचारिक रूपमा विचलित , पलायन भएकालाई बाेकेर माओवादी अध्यक्ष प्रचण्डलाई प्रहार गर्न खाेजिएकाे टिप्पणी गरेका छन् ।
`वैचारिक रुपमा विचलित र पलायन भएका केही भगौडालाई बोकेर ऐतिहासिक बिरासत बोकेको अनि भावी समाजवादी नेपालको स्पष्ट मार्गचित्र र रुपरेखा कोरेको माओवादी पार्टी र अध्यक्ष क. प्रचण्डलाई तेजबोध गर्न सकिन्छ र जनतालाई भ्रमित गर्न सकिन्छ कि भन्ने दिवा सपना अब कसैले नदेखे हुन्छ,´ सामाजिक संजाल फेसबुकमम आङ्बाेले लेखेका छन्, `पटक पटकको परीक्षणमा असफल भैसकेको, बजारमा कुनै मूल्य नभएको वस्तुको ब्राण्डिङमा दुःख नगरेको राम्रो होला, हेक्का रहोस् हामी सही विचार, दृष्टिकोण र स्पष्ट एजेन्डासहित खुल्ला प्रतिस्पर्धा गर्न सदैब तयार छौ ।´
यस्तै माओवादी माेरङका संयाेजक गणेश उप्रेतीले पनि साेही खालकाे स्टाटस लेखेका छन् । `सिजन र ब्राण्ड खास बेला र खास दाममा स्वभाविक बिक्छ त्यो बजारको नियम हो,´ एमालेमा प्रवेश गरेका माओवादीहरूप्रति कटाक्ष गर्दै उनले लेखेका छन्, `अनि सिजन सकिएपछि त्यो माल होलसेलको दामभन्दा कममा फिर्ता हुन्छ यो नि बजारको नियम हो! माओवादी छाडेर ओलीसँग गएकाहरुले बजारको यो नियम राम्ररी पढुन ! भोली बजारलाई अनावश्यक दुःख नदिउन ।´

