सपथअघि काँग्रेसभित्र देउवा र कोइराला समूहको रस्साकस्सी

माओवादी केन्द्रमा भने पार्टी अध्यक्ष प्रचण्डको फोनले आङ्बोलाई दोस्रो मौका

विराटनगर । पाँच दलीय गठबन्धन सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सपथ लिएको दिन मंगलबार नेपाली काँग्रेसभित्रको विवादले सपथ कार्यक्रमलाई दुई घण्टा पछि धकेल्यो ।

प्रदेश प्रमुखको कार्यालयले मंगलबार दुई बजेका लागि मुख्यमन्त्रीको सपथ कार्यक्रम राखेको थियो । तर, तीन बजेसम्म पनि काँग्रेसबाट को मन्त्री बन्ने विवाद टुंगो लागेको थिएन । सुरुमा नाम चयन र नाम चयनपछि मन्त्रालयको विवादले काँग्रेस संसदीय दलमा दिनभर रस्साकस्सी चलेको थियो ।

मन्त्री चयन गर्ने विषयमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइराला पक्षबीचको टकरावले काँग्रेस प्रदेशको संसदीय दलमा दिनभरजसो तनाव भएको काँग्रेस सांसदहरुले बताए । काँग्रेस संसदीय दल स्रोतका अनुसार सभापति देउवा पक्षले पहिलो दिन दलका उपनेता हिमाल कार्कीलाई मात्रै मन्त्री पदको सपथ गराउने तयारी गरेको थियो ।

गठबन्धनका सबै दलबाट एक–एक जना मन्त्रीले सपथ लिने तयारी पनि भएको थियो । तर, कोइराला पक्षका सांसदहरुले आफ्नो पक्षबाट पनि पहिलो दिन नै मन्त्री चयन हुनुपर्ने अडान लिएपछि काँग्रेसमा विवाद चर्किएको थियो । ‘केन्द्रबाट आज पहिलो दिन एक –एक जना मन्त्रीले सपथ लिने निर्देशन थियो,’ काँग्रेसका एक सांसदले भने ‘तर, हाम्रोमा कोइराला पक्षले अपमानित भएको महसुस गरेपछि त्यो पक्षलाई पनि समेट्न आवाज उठ्यो । त्यही छलफल लम्बिएपछि सपथमा ढिलाइ भयो ।

सत्तारुढ गठबन्धनका नेताहरुका अनुसार काँग्रेस केन्द्रले मंगलबार देउवा निकट मानिने संसदीय दलका उपनेता हिमाल कार्कीलाई मात्रै सपथ गराउन मुख्यमन्त्री राजेन्द्र राईलाई भनेको थियो । सभापति देउवा पक्षका सांसदहरुले केन्द्रको निर्देशन अनुसार चल्नुपर्ने बताएका थिए । तर, शेखर कोइराला पक्षका सांसदहरुले आफ्नो पक्षबाट पनि आजै मन्त्री हुनुपर्ने अडान राखे । संसदीय दलका नेता राजीव कोइरालाले अन्तिममा देउवा पक्षका हिमाल र कोइराला पक्षका केदार कार्कीलाई मन्त्री बनाउने निर्णय लिएका थिए । डा. कोइरालाले केन्द्रमा देउवा पक्षसँग कुराकानी गरेपछि सभापति पक्षधरहरु सहमत भएका हुन् ।

संसदीय दलका उपनेता र प्रमुख सचेतक कार्कीद्वयबीच मन्त्रालय छान्ने विषयमा पनि ठूलै रस्साकस्सी चलेको थियो । दुवै जनाले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि त्यो विवादले पनि घन्टौं समय लिएको काँग्रेस नेताहरुले बताएका छन् । अन्तिममा उदयपुरका हिमालले भौतिक पूर्वाधार र मोरङका केदारले आन्तरिक मामिला मन्त्रालय लिने कुरामा सहमति जुटेपछि चार बजेतिर बल्ल सपथ सम्भव भयो ।

गठबन्धनको अर्को दल माओवादी केन्द्रका केही सांसदहरु नयाँले अवसर पाउनुपर्ने बताउँदै आएका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका नेता इन्द्र आङ्बोलाई नै सरकारमा जान निर्देशन दिएपछि उनले आर्थिक मामिला मन्त्रालयमा दोस्रोपटक जिम्मेवारी सम्हालेका छन् । यसअघि शेरधन राई नेतृत्वको सरकारमा पनि उनी सोही मन्त्रालयमा थिए । पुस ५ पछि अविश्वास प्रस्ताव ल्याउने कामको नेतृत्व गरेका कारण राईले आङ्बोलाई हटाएका थिए । जनता समाजवादी पार्टीका मोरङका सांसद जयराम यादवले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चकी विष्णु तुम्बाहाम्फे सोही मन्त्रालयको राज्यमन्त्री बनेकी छन् ।

मङ्गलबार, १६ कार्तिक, २०७८, साँझको ०६:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर