विराटनगर । प्रदेश १ को विपक्षी गठबन्धनले भोलि (सोमबार) प्रदेशसभामा हुने विश्वासको मत सम्बन्धि मत विभाजनमा मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय पनि गरेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेताहरुको आइतबार विराटनगरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

‘भोलि भीम आचार्य नेतृत्वको सरकारलाई एकमतका साथ बिदा गर्ने र राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने हाम्रो गठबन्धनको निर्णय भएको छ,’ माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले भने ।

प्रदेशसभामा सत्तारुढ एमाले प्रष्ट अल्पमतमा छ भने विपक्षी गठबन्धन आरामदायी बहुमतको अवस्थामा छ । मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान भएको भए आजै आचार्य पदमुक्त हुने थिए । किनकी ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यले ३९ मत मात्र पाउने अवस्था छ । प्रदेशसभामा एमालेका ४१ सांसद रहेपनि सभामुख प्रदिपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार छन् ।

विपक्षी गठनबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा थियो । गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन ।