विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले कात्तिक १७ गते नयाँ सरकार गठन हुने बताएका छन् ।
नेकपा (एस)ले शनिबार विराटगनरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भावी मुख्यमन्त्रको रुपमा चर्चामा रहेका नेता राईले कात्तिक १७ गतेसम्म नयाँ सरकार गठन भइसक्ने बताएका हुन् । ‘प्रदेश १ मा कात्तिक १७ गतेसम्म नयाँ सरकार बनिसक्छ,’ नेता राईले भने ‘हामी गठबन्धनमा ५० जना सांसद छौं तर पनि एमालेले छलछाम गर्न खोजिरहेको छ त्यसलाई असफल पारेर १७ गतेभित्र नयाँ सरकार बनाउँछौं ।’ उनले कात्तिक १५ गते नै प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्तावमा मतबिभाजन हुने बताए ।
उनले असोज ८ गते नै भीम आचार्यले नेतृत्व गरेको सरकारको ३० दिन पुगिसकेको तर असंवैधानिक ढंगले चलेको बताए । ‘सम्पत्ति हस्तान्तरण गरे जसरी एमालेले सरकार फेर्याे । संविधान मिचेर सरकार बसिरहेको छ । तर, हाम्रो संख्या घटेको छैन’ राईले भने, प्रदेश १ र बागमती नेकपा (एस) लाई दिने सहमति छ । काँग्रेसले के गर्ला भन्ने थियो अब यस विषयमा समस्या छैन ।’ उनले महाधिवेशन आदि कारणले ७ गतेको संसद स्थगित भएपनि अब संसदले निर्णय दिने बताए ।
नेता राईले आफ्नो नेतृत्वमा सरकार गठन हुने करिब निश्चित रहेको भन्दै माधब नेपालले पार्टी खत्तम पारे भन्नेहरुलाई जवाफ दिनुपर्ने बताए । उनले नौलो जनवादी क्रान्तिको संघर्षमा नेता नेपाल सफल भएको टिप्पणी गरे ।