कमजोर मानिएको नेकपा एसको विराटनगरमा ‘सानदार’ कार्यक्रम

विराटनगर । एमालेबाट विभाजित बनेर माधवकुमार नेपाल नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विराटनगरमा हजारौंको सहभागीतामा कार्यक्रम गरेको छ ।

मोरङमा पार्टी विभाजनपछि नेकपा एस रोज्ने जनप्रतिनिधिको संख्या कमजोर थियो । माधव नेपाल समूहमा रहेका नेताहरु अन्तिम अवस्थामा ओलीसमूहकै एमालेमा रहँदा मोरङमा नेकपा एसको उपस्थिति कमजोर रहेको तर्क गरिन्थ्यो । तर दशैं, तिहार, छैठ पर्वको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा भने नेकपा एसले झण्डै २ हजार मानिसको उपस्थितिमा भव्य कार्यक्रम गरेर कमजोर नरहेको सन्देश दिएको छ ।

कार्यक्रममा कार्यकर्ता र समर्थकको उत्साहजनक उपस्थिति देखेपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि उत्साहित भाषण गरेका थिए । उनले आउने चुनावमा केपी शर्मा ओली नेतृत्वको पार्टी नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताए ।

नेकपा एकीकृत समाजवादी मोरङले विराटनगरमा शनिबार आयोजना गरेको दीपावाली, छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको बताए । ‘आज केपी ओली भुईँमा पुगेका छन् । एकीकृत समाजवादी पार्टी सत्तामा पुगेको छ,’ अध्यक्ष नेपालले भने, ‘आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको छौं ।’ एमाले आफ्नै पार्टी भएपनि त्यहाँ नौ रेक्टर स्केलको भुँइचालो आएको र घरको जग हल्लिन थालेपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी जन्माएको उनले बताए ।

सूदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी पहिलो भएको र ओलीको पार्टी भुईँमा पछारिएको उनले बताए । ‘सूदूरपश्चिम प्रदेशमा अहिले हाम्रो पार्टी १ नम्बरको रुपमा झण्डा फहराइरहेको छ । दोस्रोमा माओवादी र तेस्रोमा काँग्रेस रहेको छ । केपी ओलीको पार्टी त भुइँमा पछारिएको छ,’ उनले भने । दुई नम्बर प्रदेशमा पनि एमाले भन्दा आफूहरुको पार्टी ठूलो भएको उनले बताए ।

अहिले भर्खर बागमतीमा पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘केपी ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन ।’ कर्णाली प्रदेशमा अवस्था पनि त्यस्तै रहेको उनले बताए । प्रदेश १ मा पनि एक हप्ता भित्रमा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई मुख्यमन्त्री हुने बताए । ‘नेकपा एसको नेतृत्वमा प्रदेश १ मा पनि सरकार बन्नेछ,’ उनले भने, ‘यसमा कुनै शंका गर्नुपर्ने अवस्था छैन । यसअघिनै सत्तारूण गठबन्धन दलहरूसँग समझदारी भएको छ ।’ अहिले प्रदेशमा सरकार बनाउन नदिने भन्दै केपी ओलीका मान्छे पैसाको लोभ देखाउँदै हिड्ने गरेको पनि बताए ।

उनले नेकपा एमालेको भविष्य नभएको भन्दै बयलगाडाको सोच हुनेहरु केपी ओलीतिर लागेको बताए । ‘हामी नक्कली कुरामा विश्वास गर्दैनौं । नयाँ कुरा गर्दै नयाँ बाटो बनाएर हिंड्नु पर्छ । नयाँ सिर्जना गर्नुपर्छ भनेर नयाँ पार्टी बनाएको हो,’ उनले भने, ‘केपीको दम्भका कारण उनी सत्ताको घोडाबाट भुईंमा बझारिएका छन् ।’

ओलीले जस्तो गफ गरेर मात्र पार्टी नचल्ने भएकाले नयाँ सोच र विचार बोकेका मान्छे हाम्रो पार्टीमा आउने उनले बताए । ‘केही नेता गफ गर्छन् तर, पार्टीमा योगदान दिंदैनन् । अन्यत्र कम्युनिष्ट आन्दोलन सकिए पनि जनतामा कम्युनिष्ट पार्टीप्रति जनताको अझै विश्वास छ,’ उनले भने । ओलीको पछिपछि बयलगाडाको सोच भएका मानिसहरू मात्र जाने भएको र नयाँ विचार, परिवर्तनकारी, हिमायती सोच, युवापुस्ताहरु नेकपा एसमा आउने उनको भनाइ थियो ।

कार्यक्रममा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सद्भाव र सामाजिक एकताको लागि दलीय गठबन्धनको नयाँ सरकार बनेको र राजनीतिक यात्रामा तलमाथि हुनु राजनीतिक खेल भएको बताए ।

यसैबीच अध्यक्ष नेपालले वर्तमान पाँच दलीय गठबन्धन काँचो धागोले बाँधेको जस्तो नभएको भन्दै गठबन्धन मजबुद रहेको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको पनि बताए ।

शनिबार, १३ कार्तिक, २०७८, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर